धरान: चार दिनअघि आफ्नै साथीलाई छुरा प्रहार गरी फरार भएका धरान ५ देउरालीका विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

दशैंको रमझम भइरहेको बेला भएको यो घटनालगत्तै विकास फरार भएका थिए । प्रहरीले उनको खोजी तीब्र बनाइरहेको थियो । उनलाई आज बिहान करिब ५ बजे धरान ११ स्थित सर्दु खोला किनारमा रहेको वनडाँडा जंगलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएका छ ।

असोज २४ गते दिउँसो करिब १ बजे धरान २ छाताचोकमा मोवाइल फोन सेटको बिषयमा वादविवाद हुँदा सोही ठाउँमा डेरा गरी बस्ने ३० बर्षीय सविन भुजेललाई छुरा प्रहार गरेका थिए । राजु तुलाधरको किराना पसल नजिक सडकमा भएको घटनामा विकासले सविनको पेट, ढाड, बाँया काखी मुनि र निधारलगायत जथाभावी छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सविनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।