झापा: नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आउन अब करीव अढाई महिना बाँकी छ । भ्रमण बर्ष मनाउने तयारी भइरहदा नेपालको पुर्वी नाका काँकरभिट्टाबाट भित्रिने पर्यटकको संख्यामा भने हरेक महिना कमी हुदै गएको छ ।

अध्यगमन कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार सन् २०१९ को जनवरीदेखि सेप्टम्वरसम्म आइपुग्दा पूर्वी प्रवेश द्वारबाट पैदलमार्ग हुँदै नेपाल घुम्न आउने पर्यटकको संख्यामा कमी आएको हो । सन् २०१९ को पहिलो ९ महिनामा यो नाका भएर ९ हजार ४ सय ३१ पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमा ५ हजार ७ सय ६४ विदेशी तथा ३ हजार ६ सय ६७ नेपाली पर्यटक रहेको कार्यालयले जनाएको छ । सोही अवधिमा यो नाका भएर ४ हजार ८ सय ४३ विदेशी र ३ हजार ६ सय ७५ नेपाली गरी कूल ८ हजार ५ सय १८ जना पर्यटक विदेशिएका थिए ।

सवैभन्दा बढी मे महिनामा ५ सय ९० विदेशी र १ हजार ७९ नेपाली गरी कूल १ हजार ६ सय ६९ पर्यटक काँकरभिट्टा नाका भएर नेपाल घुम्न आएका छन् । जनवरीमा यो नाका भएर ८ सय २१ विदेशीसहित १ हजार १९ पर्यटकले नेपाल प्रवेश गरे पनि सेप्टम्वरसम्म आइपुग्दा त्यो संख्या घटेर ८ सय ५७ जनामा झरेको छ । त्यो महिना ५ सय २ विदेशी र ३ सय ५५ नेपाली गरी ८ सय ५७ पर्यटकले नेपाल घुम्न आएको कार्यालयको तथ्याङ्कले देखाएको छ । बितेको नौ महिनामा सवैभन्दा कम पर्यटक पनि सेप्टम्बरमा नेपाल छिरेका छन् ।

tourist

खासगरी नेपालका हरेक योजना, कार्यक्रम र संरचनाहरु पर्यटकमैत्री नहुनु र भ्रमण वर्ष २०२० को प्रचारप्रसार समेत तीव्ररुपमा नहुनु पर्यटकको संख्या ओरालो लाग्नुको मुख्य कारण भएको झापा ट्राभल व्यवसायी संघ जिल्ला समितिका अध्यक्ष निरबहादुर कार्कीको भनाइ छ । अन्तर्राष्ट्रिय क्षेत्रमा जति प्रचारप्रसार हुनुपर्ने हो त्यो हुन नसकेको उनको भनाइ छ । हरेक महिना पर्यटकको संख्यामा कमी आउनुले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य पूरा नहुने व्यवसायीहरुको भनाई छ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेको छ । तर, पूर्वी नाकाबाट अपेक्षित पर्यटक भित्रिरहेको छैन ।

फेब्रअरीमा ५ सय ५९ विदेशी र ३ सय १० नेपाली गरी कूल ८ सय ६९, मार्चमा ८ सय २९ विदेशी र ४ सय १५ नेपाली गरी कूल १ हजार २ सय ४४, अप्रिलमा ८ सय ४६ विदेशी र २ सय ५१ नेपाली गरी कूल १ हजार ९७, जुन महिनामा ५ सय ६३ विदेशी र २ सय ५३ नेपाली गरी ८ सय १६, जुलाई महिनामा ५ सय ४१ विदेशी तथा ३ सय ४१ नेपालीगरी ८ सय ८२, अगष्ट महिनामा ५ सय १३ विदेशी र ४ सय ६५ नेपाली गरी कूल ९ सय ७८ जना पर्यटक नेपाल घुम्न आएको तथ्याङ्क कार्यालयसँग छ ।

कार्यालयका अनुसार सवैभन्दा बढी जुन महिनामा ५ सय ३७ विदेशी र १ हजार ८० नेपाली गरी कूल १ हजार ६ सय १७ जना पर्यटक नेपाल बाहिरिएका थिए । सवैभन्दा कम सेप्टम्वरमा ९ सय ७१ विदेशी तथा ९८ नेपालीसहित ५ सय ६९ पर्यटकले नेपाल छाडेको कार्यालयसँग तथ्याङ्क छ । जनवरीमा १ हजार ३ सय १०, फेव्रुअरीमा ७ सय १, मार्चमा १ हजार १ सय ७, अप्रिलमा ८ सय ८६, मे महिनामा ६ सय ८१, जुलाईमा ७ सय २४ अगष्टमा ९ सय २३ जना पर्यटकले काँकरभिट्टा नाका हुँदै विभिन्न देश प्रस्थान गरेका थिए ।

imigration

नेपाल प्रवेश गर्नका लागि भारतलगायत अन्य छिमेकी देशसँग जोडिएका सीमानाकाहरु विभिन्न ठाउँमा छन् तर नेपाल प्रवेशको पहिलो पूर्वीद्वार काँकरभिट्टा नाका निक्कै महत्वपूर्ण र संवेदशील रहेको ‘नेपाल पर्यटन वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समिति’ १ नम्बरका सदस्य उदयकुमार श्रेष्ठको भनाइ छ । यहाँका पर्यटन व्यवसायी, होटल व्यवसायी, यातायात व्यवसायीहरुको बानी व्यवहार पर्यटकमैत्री हुनुपर्ने प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा निजीक्षेत्र यसको प्रचारप्रसारमा निक्कै लागीपरेको पर्यटन व्यवसायी एवम् झापा ट्राभल व्यवसायी संघ जिल्ला समितिका कोषाध्यक्ष पेमा तामाङको भनाइ छ । नेपार सरकारले पर्यटकहरुलाई आर्कषण गर्न सक्ने योजनाहरु अघि सार्नुपर्ने र हरेक क्षेत्र पर्यटकमैत्री बन्नुपर्नेमा उनको जोड छ । यो नाकाबाट भारत विहारबाट नभएर अमेरिका, वेलायत, जर्मनलगायतका नागरिकहरु प्रवेश गर्ने गर्दछन् ।

पर्यटनमार्फत आर्थिक समृद्धि हासिलको लक्ष्यमा यो अभियान निक्कै सार्थक बन्न सक्ने भएपनि पर्यटकको संखया क्रमशः कम हँुदै जानुले पक्कै पनि राम्रो सन्देश जाँदैन । सरकारले अघि सारेको ‘समृद्घ नेपाल सुखी नेपाली’ भन्ने सपना पुरा गर्न समेत भ्रमण बर्ष २०२० एउटा मेरुदण्डको रुपमा त रहला तर, नेपालका हरेक पूर्वाधार पर्यटक मैत्री बन्न जरुरी छ । यसका लागि सम्बन्धित निकायले वेलैमा ध्यान दिन जरुरी छ ।