धरान: चीन र भारतलाई जोड्ने छोटो दुरीको जोगवनी–किमाथां कोशी राजमार्गअन्र्तगत रानीदेखि तरहरासम्म ६ लेनको सडक विस्तार भइरहेको छ ।

धरानसम्म ६ लेनको विस्तार हुने यो सडक त्यसपछि पहाडी क्षेत्रमा भने मात्र २ लेनको हुने भनिएको छ । चीनसँगको नाका किमाथांका जोडिन भने अब मात्र १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । दुई विशाल छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो दुरी हुने भएकोले पनि यो राजमार्ग सञ्चालनमा आएपछि पुर्वी क्षेत्रले ठुलो आर्थिक लाभ पाउने अपेक्षा गरिएको छ ।

हालै चीनीया राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको क्रममा जारी भएको दुई देशको संयुक्त वक्तव्यमा कोशी राजमार्गलाई पनि ‘कोशी इकोनोमिक करिडोर’कोरुपमा विकास गर्ने भनि महत्वका साथ समावेश गरिएको छ । यो संयुक्त वक्तव्यले चीनले यो सडकलाई व्यापरिक नाकाकोरुपमा प्रयोग गर्न चाहेको प्रष्ट छ । संयुक्त वक्तव्यमा कोशी राजमार्गको किमाथांका –लेगुवाघाट सडकखण्ड निर्माण गर्न नेपाली पक्षले गरेको आग्रह वमोजिम भविष्यमा सहकार्य गर्नेको लागि विस्तृत प्रस्ताव पेश गर्न चीनले आग्रह गरेको उल्लेख छ । यो वक्तव्य पछि पुर्वका जनप्रतिनिधि, उद्योगी एवं व्यापारीहरु उत्साहित छन् ।

यो सडक भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दुरीको हुनेछ । यसकारण पनि किमाथांका नाका र कोशी राजमार्ग भएर व्यापार गर्दा भारत र चीन दुवैलाई लाभ पुग्छ भने यी दुई छिमेकीले यो सडकलाई व्यापारिक नाकाकोरुपमा प्रयोग गर्दा नेपाललाई पनि फाइदा हुने अपेक्षा छ । तर, यो नाकाको बारेमा लामो समयदेखि अभियान चलाइरहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किसोर प्रधान भने पहाडी क्षेत्रमा मात्र २ लेनको सडक विस्तारले अपेक्षा गरेको लाभ नेपाललाई नहुने बताउँछन् । यो सडक पहाडी क्षेत्रमा कम्तीमा ४ लेनको निर्माण भए मात्र तीनै देशलाई फाइदा पुग्ने उनको भनाईछ । ‘यो चीन र भारतको व्यापारिक नाकाकोरुपमा प्रयोगमा आउछ भनेर हामीले सोचेका हौं, यो बाटो भएर चीन र भारतले व्यापार गर्ने हो,’प्रधान भन्छन्,‘म संखुवासभा पनि पुगेर आए, बाटो २ लेनको मात्र हुँदा ठुला व्यापारिक गाडी कसरी आउजाउ गर्छ ? कम्तीमा पनि ४ लेनको सडक भएमात्र हामीलाई फाइदा हुन्छ ।’

प्रधानका अनुसार चीनलाई आफ्नो उत्पादन कलकत्ता बन्दरगाह हुदै विश्व बजारमा पुर्याउन यो करिडोर लाभदायी हुनेछ भने भारतलाई पनि चीनको ठुलो बजारमा आफ्ना उत्पादन पुर्याउन सबैभन्दा छिटो रुट यही करिडोर हुनेछ । त्यसैले यो नाकाबारे चीन र भारत दुवै देशले चासो देखाएको हो । ‘बीचमा पर्ने नेपालले पारवाहन राजश्व उठाउछ, यात्रा गर्नेले होटल व्यवसाय चल्छ । सामान पुर्याएर फर्केको खाली गाडीले नेपाली व्यवसायीको सामान भारत र चीनसम्म लैजान्छ,’उनले भने ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटाले संयुक्त वक्तव्यमा उल्लेख भएअनुसार कोशी करिडोर सञ्चालनमा सरकार गम्भीरतापुर्वक लाग्नुपर्ने बताए । ‘चीनले सहयोग गर्छु भनेको छ, दाताले नै चासो दिएको कुरामा सरकार कटिवद्ध भएर लाग्नुपर्छ,’उनले भने,‘प्रदेश १ को मात्र होइन, समग्र नेपाललाई नै लाभ पुग्छ ।’

संखुवासभाका संघीय सांसद राजेन्द्र गौतम कोशी करिडोर सञ्चालनमा आएमा संखुवासभा जिल्ला र सिंगो प्रदेश १ व्यापार र वाणिज्यको हबकोरुपमा विकास हुने बताए । सांसद गौतमले भने,‘कनेक्टिभिटिको हिसाबले मात्र होइन, यसको बहुआयामिक महत्व छ । यो नाका सञ्चालनमा आएपछि राजश्व वृद्धि हुनेछ भने पुर्वाधार विकास, औद्योगिक विकास र रोजगारी पनि सृर्जना हुनेछ । ’