धरान: नेपाल रेडक्रस सोसाइटी, सुनसरीका महामन्त्री मुकुल कायस्थ मंगलबार एक्स रे गराउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभागमा पुगेका थिए । उनले सामान्य एक्स रे गराउन पनि झण्डै २ घण्टा कुर्नु पर्यो ।

प्लेट नभएको भन्दै विरामीलाई लामो समय कुराए पछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘प्रतिष्ठानको घोर लापरवाही । एक्स रे मेशिनहरु बिग्रेको धेरै समय भइसकेको र प्लेटको अभावले सेवा प्रभावित भइ विरामीले दुःख पाउदासमेत मर्मत गर्ने वा नयाँ ल्याउनेतर्फ प्रशासन अग्रसर नहुनु दुःखद हो । यसतर्फ संघीय र प्रदेश सरकारले समेत ध्यान दिइयोस् ।’ श्रेष्ठको यो तीतो अनुभव वीपी प्रतिष्ठान उपचार गर्न आउने सम्पुर्ण विरामीहरुको पनि हो । लामो समय पदाधिकारीबीचको द्धन्दको भुमरीमा फसेको प्रतिष्ठान अझै पनि सुधारमा आउन सकेको छैन ।

वीपी प्रतिष्ठानमा बिशेषज्ञ सेवा पाउने आशामा पुर्वका प्रायः सबै जिल्ला र भारतबाट पनि विरामीहरु आउछन् । तर, यहाँको रेडियोलोजी विभागको मेशिन तथा उपकरणहरु सधै सुचारु हुदैन । विरामीहरुले दुःख मात्र पाउदैनन्, अन्यत्र निजी स्वास्थ्य संस्थामा महंगोमा सिटिस्क्यान, एमआरआई, अल्ट्रासाउण्ड र एक्स रेलगायत जाँच गराउन बाध्य पनि हुन्छन् । प्रतिष्ठानको व्यवस्थापन पक्षले बिग्रेका उपकरण तत्काल मर्मतसम्भार गर्न ध्यान नदिदा सर्वसाधारणहरु उपचार पाउनभन्दा झन् पीडित हुन्छन् ।

अधिकांश मेशिनहरु बेकम्मा

bp-ctscan

वीपी प्रतिष्ठानको आकस्मिक कक्षको सिटिस्क्यान बिग्रेर थन्किएको एक बर्ष पुगिसकेको छ । पिपिपि मोडलमा चलेको यो मेशिन बर्ष दिनसम्म पनि सञ्चालनमा ल्याउन ध्यान दिएको छैन । आकस्मिक कक्षका विरामीहरुको सिटि गराउन सेन्ट्रल ल्याब पठाउनुपर्ने बाध्यता थियो । तर, अहिले सेन्ट्रल ल्याबको पनि सिटि मेशिन बिग्रेर थन्किएको छ । अहिले सिटि गर्नुपर्ने विरामीहरु बाहिर महंगोमा गराउन बाध्य छन् ।

यस्तै, आकस्मिक कक्षकै भिडियो एक्स रे पनि बिग्रिएको लगभग ३ महिना बितिसकेको छ । आकस्मिक कक्षबाट विरामीको भिडियो एक्स रे गर्न पनि सेन्ट्रल विभागमा नै पुग्छन् । विभागमा भएको ५ वटामध्ये २ वटा मेशिन पनि बिग्रिएको छ । आकस्मिक कक्षमा भएको एक्स्स रे गर्नलाई भोल्टेज नियन्त्रण गर्ने स्टेब्लाइजर बिग्रेको ८, ९ महिना बितिसक्यो । त्यो नयाँ ल्याउने वा मर्मत गर्ने ध्यान पुगेको छैन ।

प्रतिष्ठानको एमआरआइ पनि अहिले कोठाको तापक्रम सन्तुलन नहुदा चलेको छैन । यो भन्दा अघि युपिएस बिग्रेर एमआरआई लामो समय थन्किएको थियो । बोर्ड फेरेपछि मेशिन त बन्यो, तर ए.सि.को खराबीले तापक्रम असन्तुलित हुँदा एमआरआइ मेशिन नै चलेको छैन । प्रतिष्ठानमा दैनिक ३ सय बढीको एक्स रे हुने रेडियोलोजी विभागले जनाएको छ । यस्तै, सिटिस्क्यान २५ देखि ३० जनाको मात्र हुन्छ भने भिडियो एक्स रे सय जनाको हाराहारीमा हुन्छ ।

पुरानो मेशिन, मर्मत गर्न ढिलाई

bp-MRI

वीपी प्रतिष्ठानको अधिकांश मेशिन ज्यादै पुरानो छ । ती मेशिनहरु फेर्नु पर्ने वा बिग्रदा चाडै मर्मत गर्नुपर्ने हुन्छ । तर, न नयाँ मेशिन खरीद प्रक्रिया शुरु हुन्छ, न मर्मत प्रक्रिया चाडो हुन्छ । ‘नयाँ मेशिनहरु आवश्यक छ, बिग्रदा पनि प्रशासनले चाडो मर्मत प्रक्रिया अघि बढाउनुपर्छ,’विभागीय प्रमुख मुकेशकुमार गुप्ताले भने,‘बिग्रेको मेशिनहरु बनाउन पहल भइरहेको छ ।’