धरान: चार दिनअघि शुक्रबार अनुगमनमा आएको औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरले दर्ता नभएको र कतिपय प्रतिबन्धित फुड सप्लिमेन्ट(खाद्य पुरक) सामग्री ७ दिन भित्र हटाइसक्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रहेको मेडिकल पसलहरुलाई अल्टिमेटम दिएको छ । त्यही दिन प्रतिष्ठानका उपकुलपति र अस्पताल निर्देशकलाई पनि संयुक्तरुपमा भेटेर अनावश्यक फुड सप्लिमेन्ट सिफारिश गर्ने कार्य रोक लगाउन सचेत गराएको थियो ।

यो घटनाको ४ दिन बितिसक्दा पनि प्रतिष्ठानका डाक्टरहरुले विभागमा दर्ता नभएको फुड सप्लिमेन्ट विरामीलाई सिफारिश गर्न छोडेका छैनन् । अहिले औषधी पसलेहरु विभागले भनेजस्तै ७ दिनमा फुड सप्लिमेन्ट फिर्ता गर्ने कि नगर्ने भनेर अन्योलमा छन् । ‘फिर्ता नगरौं विभागले कारबाही गर्ने डर भयो, फिर्ता गरौं डाक्टरले प्रेस्काइब गर्न छोडेको छैन,’नेपाल औषधी व्यवसायी संघ सुनसरीका सचिव पंकज झाले भने । यो कार्यमा सबैभन्दा बढी प्रतिष्ठानको हाडजोर्नी विभाग र जनरल ओपिडीका डाक्टरहरु छन् । प्रतिष्ठानको इर्मजेन्सी पनि जनरल ओपिडी मातहतमा छ । त्यसैले इर्मजेन्सीमा आएका विरामी डिस्चार्ज हुदा पनि अनिवार्यरुपमा फुड सप्लिमेन्ट डाक्टरहरुले सिफारिश गर्ने गरेको पाइएको छ ।

bp-emergecy-card

मेडिकल पसल सञ्चालकहरुका अनुसार कतिपय डाक्टरहरु नै ती फुड सप्लिमेन्ट भित्र्याउन पार्टनरसिप गरेका छन् । जसले गर्दा विभागले कडाई गर्दा पनि उनीहरुले फुड सप्लिमेन्ट सिफारिश गर्न छोडेका छैनन् । ‘पहाड, गाउँका गरिब विरामीहरु उपचार गराउन आएका हुन्छन् । ४, ५ सय रुपैयामा हुने औषधी छ, तर पनि ५, १० हजार खर्च हुने गरी फुड सप्लिमेन्ट डाक्टरले लेखिदिन्छन्, हामी बेच्न बाध्य छौं,’झाले भने,‘सबैभन्दा धेरै हाडजोर्नी र जनरल ओपिडीबाट सिफारिश हुन्छ । इर्मेजेन्सीबाट डिस्चार्ज हुदा पनि लेखिदिएकै हुन्छ ।’

औषधी ऐन २०३५ अनुसार विभागमा दर्ता नभएको औषधी बेच्न पाइदैन । बेच्न नपाइने औषधी डाक्टरले विरामीलाई खान सिफारिश गर्न पाउदैनन् । तर, यहाँका डाक्टरहरुले विभागमा दर्ता नभएका फुड सप्लिमेन्टहरुलाई औषधी भनेर सिफारिश गरिरहेका छन् । यसरी फुड सप्लिमेन्ट विरामीलाई खान सिफारिश गरेवापत डाक्टरहरुले उत्पादक कम्पनी र सप्लायर्सबाट मासिकरुपमा माटो कमिशन रकम पाउदै आएका छन् ।

medi

डाक्टरहरुले भिटामिन, क्याल्सियम खानुपर्ने भन्दै विरामीलाई ती फुड सप्लिमेन्ट सिफारिश गर्छन् । जसको मुल्य कम्तीमा १२ सय पर्ने गरेको छ । तर, विभागमा दर्ता भएको सोही प्रकृतिको काम गर्ने औषधीलाई भने डाक्टरहरुले सिफारिश गर्दैनन् । जबकी त्यस्ता औषधी मात्र ७० रुपैयामा जतिमा पाइन्छ । ‘विभागमा दर्ता भएको क्याल्सियम, भिटामिन दिदा डाक्टरले नै त्यो हुदैन भनेर फकाईदिन्छन्,’मेडिकल पसलसमेत भएका झाले भने ।

डाक्टरहरुले सिफारिश गर्दै आएको फुड सप्लिमेन्ट खाद्य तथा गुण नियन्त्रण विभागमा मात्र दर्ता छ । त्यहाँ दर्ता हुनु भनेको दाल, चामल जस्तै खाद्यान्न हो भन्ने प्रमाणित हुनु हो । त्यसैले ती फुड सप्लिमेन्ट किराना तथा सपिङ मल, मार्टतिर मात्र बेच्न पाइन्छ । तर, मिलेमता र कमिशनको लोभमा डाक्टरहरुले प्रेस्काइब गर्ने गरेपछि मेडिकल पसलेहरुले औषधी भनेर बचिरहेका छन् । उनीहरु डाक्टरले सिफारिश गर्न छोड्ने हो भने आफुहरु पनि बेच्न छोड्ने बताइरहेका छन् ।