धरान: फुड सप्लिमेन्टलाई औषधी भनेर डाक्टरहरुले सिफारिश गर्न नहुने भन्दै औषधी व्यवस्था विभागले त्यस्तो सिफारिश रोक लगाउन आग्रह गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पत्राचार गरेको छ ।

विभागको विराटनगरस्थित शाखा कार्यालयले अत्यधिक महंगो फुड सप्लिमेन्टलाई डाक्क्टरले औषधी भनेर सिफारिश गर्दा विरामीलाई आर्थिक भार पनि परेको प्रतिष्ठानलाई पठाएको पत्रमा उल्लेख छ । विभागमा कानुन अनुसार दर्ता नभएको औषधी प्रेस्काइब गर्न नपाउने भन्दै विभागले वीपीका डाक्टरहरुले सिफारिश गर्दै आएको १ सय ४९ वटा फुड सप्लिमेन्टको सुचीसमेत प्रतिष्ठानलाई पठाएको छ । विभागमा प्रमुख सञ्जिव शर्मा कट्टेलका अनुसार औषधी ऐन २०३५ को दफा १० अनुसार विभागमा दर्ता नभएको औषधी बेच्न कसैलाई छुट छैन । बेच्न नै नमिल्ने भएपछि डाक्टरले प्रेस्काइब गर्न पनि नमिल्ने उनको भनाई छ । ‘हामीले कुन कुन सप्लिमेन्ट दर्ता भएको छैन भनेर लिस्टसहित पत्र पठाएका छौं, विरामीलाई आर्थिक भार हुने गरी अब त्यस्तो कार्य गर्न हुदैन,’उनले भने ।

DDA11

वीपीका डाक्टरहरुले सिफारिश गर्ने ती फुड सप्लिमेन्टहरु गुणस्तरीय, असरयुक्त र जनसुरक्षित हो भन्ने पर्याप्त अभिलेख आधार नभएको पनि जनाएको छ । साथै, कतिपय यी मिश्रित सामग्रीहरु नेपाल सरकारले राजपत्रमा प्रतिबन्धित सुचीमा समेत समावेश गरिसकेकाले त्यस्ता सामग्रीहरु बिक्री वितरण गर्न र सेवनको लागि प्रोत्साहन गर्न तत्काल रोक लगाउन विभागले प्रतिष्ठानलाई पठाएको पत्रमा उल्लेख छ । ‘न्युट्रसियुटक्लसको नाममा औषधी जस्तै देखिने त्यस्ता सामग्रीहरुप्रति विरामी भ्रममा परी औषधी भनेर सेवन गर्ने गरेको’ विभागको पत्रमा उल्लेख छ।

प्रतिष्ठानका उपकुलपतिलाई लेखिएको पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबार, स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, नेपाल मेडिकल काउन्सिल, औषधी व्यवसायी संघ र नेपाल मेडिकल एशोसिएशनलाई पनि गराइएको छ । गएको शुक्रबार विभागले वीपी प्रतिष्ठान अघिको मेडिकल पसलहरुको अनुगमनको क्रममा अत्यधिक मात्रामा दर्ता नभएको फुड सप्लिमेन्ट बिक्री भइरहेको भेटेको थियो । साथै, ती फुड सप्लिमेन्टहरु प्रतिष्ठानको डाक्टरहरुले सिफारिश गर्ने गरेको पाइए पछि विभागले प्रतिष्ठानलाई पत्रचार गरेको हो । डाक्टरहरुले कमिशनको लोभमा विभागमा दर्ता नभएको खाद्य पुरक सामग्रीलाई औषधी भनेर विरामीलाई सिफारिश गर्ने गरेका छन् ।

food-supplement1