झापाः अघिल्ला तीन आर्थिक वर्षमा लक्ष्यको तुलनामा बढी राजस्व असुल गदैं आएको प्रदेश नम्बर १ कै सर्वाधिक राजस्व असुल गर्ने मेची भन्सार कार्यालयल काँकरभिट्टा पछिल्ला दुई आर्थिक वर्षमा लक्ष्यको तुलनामा राजस्व संकलन गर्न असफल भएको छ ।

वितेको आर्थिक वर्ष २०७१/२०७२ देखि आर्थिक वर्ष २०७४/२०७५ सम्म आइपुग्दा कार्यालयको राजस्व संकलन सन्तोषजनक रहेपनि गत आर्थिक वर्ष २०७५/२०७६ देखि चालु आर्थिक वर्ष २०७६/२०७७ को वितेको दुई महिनासम्म आइपुग्दा असुली निराशजनक रहेको छ । कार्यालयको वितेका पाँच आर्थिक वर्षको राजस्व संकलनको अवस्थाले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७१/२०७२ मा लक्ष्यको तुलनामा ५ प्रतिशत राजस्व बृद्घि गरेको कार्यालयले आर्थिक वर्ष २०७२/२०७३ मा ७ प्रतिशत राजस्व बृद्घि गरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आर्थिक वर्ष २०७१/२०७२ मा ५ अर्ब ७ करोड २१ लाख ४२ हजार वा १ सय ५ प्रतिशत राजस्व संकलन गरेको थियो । त्यो वर्ष भन्सार विभागले कार्यालयलाई ४ अर्ब ८० करोड ८३ लाख २३ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । आर्थिक वर्ष २०७२/२०७३ मा विभागले ६ अर्ब ४० करोड २६ लाख १२ हजार लक्ष्य पाएको मेची भन्सारले ६ अर्ब ८४ करोड ३३ लाख २ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको थियो । जुन रकम लक्ष्यको तुलनामा ७ प्रतिशतले बृद्घि हो ।

आर्थिक वर्ष २०७३/२०७४ मा ६ अर्ब ५२ करोड २६ लाख १० हजार तथा आर्थिक वर्ष २०७४/२०७५ मा १० अर्ब १८ करोड २७ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । ती वर्ष कार्यालयलाई विभागले क्रमस ६ अर्ब १८ करोड ४२ लाख ५० हजार तथा ९ अर्ब २० करोड ९१ लाख ३८ हजार तथा लक्ष्य तोकेको थियो । आर्थिक वर्ष २०७३/२०७४ मा राजस्व असुली लक्ष्यको तुलनामा ५ तथा आर्थिक वर्ष २०७४/२०७५ मा ११ प्रतिशतले बृद्घि गरेको हो । तर, आर्थिक वर्ष २०७५/२०७६ देखि राजस्व असुली ओरालो लागेको छ । त्यो वर्ष ११ अर्ब ८२ करोड ६१ लाख १० हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले ८८ दशमलव २२ प्रतिशत वा १० अर्ब ४३ करोड ३७ लाख १६ हजार रुपैयाँमात्र संकलन गर्न सफल भयो । चालु आर्थिक वर्ष २०७६/२०७७ को भदौ मसान्तसम्मको कुल राजव असुली १ अर्ब ६१ करोड ७१ लाख वा ६७ दशमलव ६५ प्रतिशतमात्र असुल गरेको छ ।

त्यो वर्षको वार्षिक लक्ष्य १३ अर्ब २४ करोड १ लाख ९९ हजार छ । मेची भन्सार कार्यालयको राजस्वमा मुख्य योगदान दिने वस्तु कोइला, पेट्रोलिम पदार्थ भएको र भारतबाट आयात हुने राजस्व करीव १० प्रतिशत योगदान दिने कोइला करिब पाच महिनादेखि ठप्प भएकाले कार्यालयले लक्ष्य पुरा गर्न नसकेको भन्सार अधिकारीहरुको भनाई छ ।

भद्रपुर भन्सारको पनि उस्तै अवस्था

एक वर्षअघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६/२०७७ को वितेको पहिलो तीनमहिनामा लक्षित राजस्व असुली गर्न असफल भएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ को साउनदेखि असोजमहिनासम्म ६ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने भएपनि ४ करोड ३४ लाख ६५ हजार २ सय १७ रुपैयँँमात्र राजस्व संकलन भएको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिए । जुन रकम लक्ष्यको तुलनामा १ करोड ६५ लाख ३४ हजार ७ सय ८३ रुपैयँँले कमि हो ।

भन्सार विभागले कार्यालयलाई मासीक २ करोड रुपैयाँ लक्ष्य तोकेको छ । कार्यालयको वार्षिक लक्ष्य २४ करोड भएपनि चालु आर्थिक वर्ष २०७६/०७७ को शुरुवाती तीनमहिना साउन, भदौ र असोजमहिनामा लक्षित राजस्व असुली गर्न असफल भएको हो । साउनमा १ करोड ११ लाख ९ हजार ५ सय ७८, भदौमा १ करोड ७५ लाख१ हजार १ सय ३९ र असोजमहिनामा १ करोड ५८ लाख ३५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको अधिकृत खतिवडाले जानकारी दिए ।

भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमोरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि केचना र कुमोरखोदमात्र सञ्चालनमा रहेका छन् । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गरेका थिए । उनका अनुसार भद्रपुर नाकाबाट आर्थिक कारोवारमा कमि नआएपनि विभागले बढी लक्ष्य दिएका कारण राजस्व असुली गर्न असफल भएको हो । बिहारको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका बाट भद्रपुर हुर्दै प्रमुख रुपमा सुर्ती खैनी अत्यधिकरुपमा आयात हुने गरेको छ । यसपछि कपडा, जुत्ता चप्पल आयात वापतको राजस्व असुलीले पनि कार्यालयमा उल्लेखनीय रुपमा राजस्व संकलन हुने गरेको छ ।

सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले गत आर्थिक वर्षमा १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको थियो । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय एकवर्ष अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो । गत आर्थिक वर्ष २०७५/०७६ को असोज महिनादेखि भन्सार विभागले प्रत्येक महिना १ करोड ५० लाख रुपैयाँका दरले दशमहिनाको वा असार महिनासम्म १५ करोड रुपैयाँ लक्ष्य दिएको थियो । सशस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो ।