बिराटनगर: १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेश १ मा अबैधरुपमा गाँजा खेतीविरुद्ध कार्ययोजना बनाएर सम्बन्धित जिल्लाहरुमा बिशेष अभियान चलाएको छ । अभियानअन्र्तगत ती जिल्लाहरुमा हालसम्म १५ लाख १ हजार ३ सय ३० गाँजाका बोट नष्ट गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

अबैध गाँजा खेती तथा आफै उम्रिएका गाँजाका बोटहरु नष्ट गर्न प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गरेको थियो । प्रदेश प्रहरीका अनुसार कार्तिक ३ गतेदेखि हालसम्म धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र ईलाम जिल्लाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएका १५ लाख १ हजार ३३० गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । गाँजा फडानीको लागी उक्त जिल्लाहरुबाट दैनिक १ सय ९७ जना प्रहरी जनशक्ति खटाईएको पनि प्रदेश प्रहरीको भनाई छ ।

दंगा नियन्त्रण प्रहरी गण दुहवी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट संयुक्त रुपमा दैनिक ८४ जना, जिल्ला प्रहरी कार्यालय उदयपुरबाट ५६ जना, भोजपुरबाट २० जना, खोटाङबाट १० जना, ईलामबाट १७ जना र सुनसरीबाट १० जना प्रहरी जनशक्ति गाँजा फडानीको लागि खटिएका छन् । गाँजा फडानी गर्न खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी, साँगुरीगढी, चौबिसे र धनकुटाकै आँखिसल्ला गाऊँपालिका लगायतका एरियाको बिभिन्न स्थानमा करिब ९ सय ९४ रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका १२ लाख ३० हजार ५ सय १८ गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको छ ।
यस्तै, भोजपुरको हतुवागढी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानको अन्दाजी ३ सय ९ रोपनी जग्गामा लगाईएको १ लाख ३० हजार ३ सय ३६ बोट गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

यसैगरी उदयपुरको ताप्ली गाँउपालिकाको बिभिन्न स्थानमा करिव २८५ रोपनी क्षेत्रफलको पनि १ लाख ३३ हजार ४ सय ७६ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । खोटाङको हलेशी तुवाचुङ नगरपालिकामा ७ हजार, ईलामको देउमाई नगरपालिकाका बिभिन्न स्थानहरुमा २ सय ४० बोट र सुनसरीको देवानगञ्ज गाऊँपालिका ६ मा लगाईएका करिव ३ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रदेश प्रहरीले जनाएको छ । उत्पदानको अन्तिम अबस्थामा रहेको गाँजाका बोटहरु फडानी गरी नष्ट गर्ने कार्य निरन्तर भईरहेको पनि प्रदेश प्रहरी कार्याृलयले जानकारी दिएको छ ।