धरान: धरानमा मेयर र वडा नं ७ का अध्यक्ष पदको उपनिर्वाचन आउन अब मात्र ४ दिन बाँकी छ । मंसिर १४ गते बिहानैदेखि मतदाताहरु मतदान केन्द्रमा आफ्नो मन खाएको उम्मेदवारलाई भोट हाल्न लामवद्ध उभिएको हुनेछन् ।

राजनीतिक दलहरुले घरदैलो कार्यक्रम लगभग सकिसकेका छन् । उम्मेदवारसहित दलहरु कोठे बैठक तथा सामाजिक संघसंस्था, समुहहरुसँग भेटघाट, छलफल गर्न केन्द्रीत छन् । धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्र गरी कुल २३ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् । तर, ती मध्ये नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार प्रकाश राई र नेपाली कांग्रेसका उम्मेदवार तिलक राईबीच तीब्र प्रतिस्पर्धा हुनेछ । तेस्रो शक्तिकोरुपमा समाजवादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो पनि चुनावी मैदानमा छन् । यस्तै, संघीय लिम्बूवान मञ्चबाट अमर इजम, साझा पार्टीबाट राजन श्रेष्ठलगायत थुप्रै उम्मेदवार मेयरको होडबाजीमा छन् ।

२०७४ सालमा भएको स्थानीयत तह निर्वाचनमा मेयरमा तारा सुब्बा विजयी भएका थिए । उनको २०७५ साउन १ गते निधन भएपछि धरानको मेयर पद रिक्त छ । यस्तै, वडा नं ७ मा निवार्चित अध्यक्ष भुवन मोक्तानको पनि निधन भएपछि अध्यक्ष पद रिक्त छ । दुवै तत्कालिन एमालेबाट विजयी भएका थिए ।
धरानमा सधै वामपन्थीको जित हुुदै आएकोले कम्युनिष्ट गढ वा लालकिल्ला पनि भनिन्छ । यहाँ २०४६ सालको राजनीतिक परिवर्तन पछिका हरेक स्थानीय, संसदीय होस वा संविधानसभाको चुनाव, ती सबैमा कम्युनिष्टले जित हासिल गरेका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनबाहेक सबैमा कम्युनिष्ट उम्मेदवारको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस भएको थियो । धरानमा पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवारले जितेको इतिहास छ ।

गएको पछिल्लो स्थानीय तह निर्वाचन २०७४ मा तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बाले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले हराएका थिए । त्यसबेला सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएका थिए भने तिलकले १६ हजार १ सय २ मत पाएका थिए । तत्कालिन माओवादीका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याएर तेस्रो भएका थिए । एमालेले धरानको २० वटा वडा मध्ये १४ वटामा जितेको थियो भने माओबादीले १ र कांग्रेसले ५ वटा वडा मात्रै जितेको थियो । अर्को बर्ष २०७५ मा भएको संघीय र प्रदेशसभा निर्वाचनमा पनि नेकपाका उम्मेदवारहरु विजयी भएका थिए । अहिले उपनिर्वाचनमा तत्कालिन एमाले र माओवादी एकता भएर चुनावमा होमिएका छन् । त्यसैले अहिले उपनिर्वाचन नेकपाले सहजै जित्नुपर्ने हो ।

prabin-raiko-srimati-(1)

तर, नेकपालाई आफ्नो विरासत जोगाउन सहज भइरहेको छैन । नेपाली कांग्रेसले धरानमा आक्रमण शैलीमा आफ्नो चुनावी प्रचारप्रसारलाई अघि बढाएको छ । स्थानीय, प्रदेश र संघीय सरकारले गरेको गल्ती, कमीकमजोरीहरुलाई जनता समक्ष पुर्याएर मतदातालाई आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयत्न गरिरहेको छ । पछिल्लो बर्षहरुमा तिनै तहका सरकार जनतामाझ निक्कै आलोचित भएको थियो । जनअपेक्षा अनुरुप काम गर्न नसकेकोले जनतामा वितृष्णा र निराशा छाएको छ । यसले नेकपाको प्रतिकुल र कांग्रेसको अनुकुल परिणाम आउने अनुमान गरिएको छ । कांग्रेसले धरानमा परिवर्तनको पक्षमा नारा दिएको छ । कांग्रेसको आक्रमक चुनावी अभियानबाट झस्किएको नेकपा पनि आफ्नो मतदातालाई पकडबाट उम्किन नदिन उतिकै सक्रिय देखिन्छ ।

कांग्रेस निर्वाचन परिचालन कमिटिका सदस्य सचिव सुजेन्द्र गोले तामाङका अनुसार कम्युनिष्ट सरकारले जनअपेक्षा वमोजिम काम गर्न सकेको छैन, र जनताको नजरमा असक्षम भइसकेको छ । जनताको यही असन्तुष्टीले कांग्रेसको पक्षमा जनमत वलियो बनेको उनले बताए । कांग्रेसको लागि यसपटक अर्को वलियो पक्ष भनेको नेताहरुमा देखिएको एकता पनि हो । विगतमा गुट उपगुटले गर्दा चुनावमा कांग्रेसले अन्तरघात व्यहोर्नुपथ्र्याे । तर, यसपाली कांग्रेस परिष्कृत र संगठित भएकोले चुनावमा जित हासिल हुने तामाङले बताए । ‘धरानका जनताले लामो समयदेखि कम्युनिष्ट नेतृत्व चाखे, कम्युनिष्टहरुले केही गन नसकेपछि निराश भएका मतदाताले यसपाली वैकल्पिक शक्तिकोरुपमा कांग्रेसलाई भोट दिने पक्का छ,’उनले भने,‘यसपाली कम्युनिष्टको विरासत तोड्छौं, मतदाताको मनस्थिति पनि यही छ ।’ विगतको चुनावमा कम्युनिष्टले पाएको सबै मत उसको कार्यकर्ताहरुको नभएको र न्युट्रल मत यसपाली कांग्रेसतर्फ ढल्कने उनले बताए । कांग्रेसले खम्बुवानलगायत साना दलहरुसँग पनि कार्यगत एकता गरेकोले उसको भोट बढ्नेछ ।

Tilak-Rai 7

धरानमा हरेक दिन कांग्रेसको केन्द्रीय नेताहरुको उपस्थितिले पनि यो उपनिर्वाचनलाई कांग्रेसले कति महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ । धरानको चोकहरुमा भएको कोणसभामा केन्द्रीय नेता, छिमेकी जिल्लाका नेता, सांसद, जनप्रतिनिधिहरु सम्बोधन गर्न धरान आइरहेका छन् । निर्वाचन परिचालनको कमाण्डर केन्द्रीय सदस्य महेश आचार्य धरानमै खटिएका छन् । अहिलेसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल, विजय गच्छदार, महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मालगायत दर्जनौं नेताहरु धरान आइसकेका छन् भने आज(मंगलबार) सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापालगायत थुप्रै नेताहरु धरानको भानुचोकमा हुने आमसभामा आउदैछन् । केन्द्रीय नेताहरुले कोणसभामा सम्बोधन गर्ने मात्र होइन, घरदैलोमा पनि हिडेर मतदाता रिझाउने प्रयास पनि गरेका छन् ।

यता, नेकपाको निर्वाचन परिचालन कमिटिका संयोजक रमेश बस्नेत मत घटबढ हुने भएपनि नेकपाले सहजै चुनाव जित्ने दाबी गर्छन् । नेकपाको जितको सबैभन्दा वलियो आधार भनेकै उसको संगठन र परिचालित हुने कार्यकर्ता हो । २०७४ को चुनावमा एमाले एक्लैले जितेको धरानमा अहिले माओवादी पनि एकता भएपछि नेकपा आफु सुरक्षित अवस्थामा भएको ठानिरहेको छ । ‘हाम्रो जित्ने वलियो आधार भनेको संगठन नै हो, साथै हामीले अहिलेसम्म धरानको विकासको लागि पुर्याएको योगदानको पनि जनताबाट उचित मुल्यांकन हुनेनै छ,’संयोजक बस्नेतले भने,‘हामी सुरक्षित छांै, ढुक्क छौं ।’

प्रमुख चुनावी एजेण्डा

sambad

उपनिर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलहरुले धरानको खानेपानी आयोजना, कर वृद्धि, अव्यवस्थित बसपार्क र सडक पुर्वाधार मुख्य एजेण्डाकोरुपमा उठाएका छन् । खानेपानी समस्या हल गर्न एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा परियोजना सञ्चालनमा छ । पटक पटक म्याद थपिएको आयोजना पुरा हुन नसक्दा कांग्रेसले सत्ता पक्ष(नेकपा)लाई दोष लगाइरहेको छ । यस्तै, अव्यवस्थित बसपार्क र जीर्ण तथा सडकको खाल्डाखुल्डीबाट जनताले पाएको सास्ती पनि कांग्रेसको चुनावी हतियार बनिरहेको छ । साथै, कर वृद्धि प्रमुखताको साथ कांग्रेस उम्मेदवार राईले उठाएका छन् । ‘बसपार्क, खानेपानी आयोजना, सडक निर्माण सबै अलपत्र छ, साना व्यापारी व्यवसायी विस्थापित हुने गरी करवृद्धि गरिएको छ,’कांग्रेस उम्मेदवार राईले भने,‘नेकपाको सरकार जनताले चाखिसकेका छन्, र यसपटक परिवर्तन चाहेका छन् । जनताले कांग्रेसलाई जिताउनेछन् ।’

नेकपाका उम्मेदवार प्रकाश राई स्वर्गीय मेयर तारा सुब्बाकै पालामा धरानको विकासको लागि दीर्घकालिन र अल्पकालिन योजनाहरु तयार भइसकेको र आफुले त्यसलाई कार्यान्वयन गर्ने धारणा व्यक्त गर्दै आइरहेका छन् । बसपार्कको डिपिआर तयार भइसकेकोले कार्यान्वयन गर्ने, खानेपानी आयोजनालाई पनि पुर्णता दिएर पानी वितरण गर्ने, सर्दु खर्दु करिडोर निर्माण, औद्योगिक ग्राम निर्माण, फोहोर व्यवस्थापनबाट ग्याँस उत्पादनलगायत महत्वपुर्ण आयोजनाहरु कार्यान्वयन गर्ने उनको एजेण्डा छ । ‘२०७४ मा निर्वाचिन मेयर तारा सुब्बाको नेतृत्वमा थुप्रै योजनाहरु शुरु भए पनि चाडै निधन भएकोले बीचैमा रोकिए, ती योजनाहरु कार्यान्वयन गर्नेछुँ,’उनले भने,‘काम हुदै नभएको होइन, नदेखिएको मात्र हो । पानी चाडै वितरण शुरु हुदैछ, करबारे पनि विज्ञहरुसँग सल्लाह गरेर समायोजन गर्नुपर्ने आवश्यक छ भने त्यो पनि हुनेछ ।’