बिराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूह आरआईटिमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही बम बिष्फोटनको घटना घटाई आम नागरिकहरुमा आतंक फैल्याउने कार्य गरी फरार रहेका अवाञ्छित घटनामा संलग्न अभियुक्तहरुलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले रुद्र बहादुर खड्कालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । खड्काले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।