धरान: आफ्नै महिला अनुयायीलाई करणी गरेको आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले आज पुनः ७ दिनको म्याद थप गरेको छ ।

बलात्कारको मुद्दा दायर भएपछि विरामी भएको वहानामा निरन्तर अस्पतालमा रहदै आएका कृष्णदासलाई प्रहरीले म्याद थप गर्दै आइरहेको छ । प्रहरीले म्याद थप गरेपछि कृष्ण दास भने अस्पतालमा नै रहदै आएका छन् । उनलाई प्रहरीले अस्पतालमा राखेर नै निगरानी पनि गर्दै आएको छ । यसअघि गरिएको म्याद थप सकिए पछि सोमबार प्रहरीले उनलाई पुनः अदालतमा उपस्थित गराएर म्याद थप गरेको थियो । जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले थप ७ दिन अस्पतालमै निगरानीमा रहने गरी अनुसन्धानको लागि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसअघि पनि अदालतले तीन पटक गरेर कृष्ण दासलाई १४ दिनको म्याद थप गरिसकेको थियो । सोमबार अदालतले म्याद थप गरेलगत्तै कृष्णदासलाई पुनः बिराट नर्सिङ होममा नै उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । सुनसरीको चतरामा आश्रम बनाएर बस्दै आएका कृष्णदासले आफुलाई सिद्धबाबा भएको बताउने गरेका थिए । उनीमाथि उनकै एक महिला अनुयायीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।