धरान: हरेक बर्ष सरस्वती पूजाको दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दिक्षान्त कार्यक्रम हुने गरेको थियो । त्यसदिन पासआउट(उतीर्ण) भएका विद्यार्थीहरुलाई दिक्षित हुन्थे, र हातमा स्नातक, स्नातकोत्तर तहको प्रमाणपत्र पाउथे ।

पछिल्लो ४ बर्ष यता भने प्रतिष्ठानको दिक्षान्त कार्यक्रम भइरहेको छैन । अब कहिले हुन्छ भन्ने पनि टुंगो छैन । दिक्षान्त नहुदा यहाँका पदाधिकारी, कर्मचारी र सिनियर चिकित्सकहरुलाई त केही बित्दैन, तर विद्यार्थीहरु भने ठुलो समस्यामा छन् । प्रतिष्ठानमा सन् २०१६ देखि पासआउट भइसकेका विद्यार्थीहरु दिक्षित भएका छैनन् । प्रतिष्ठानबाट प्रमाणपत्र नपाउदा थप उच्चशिक्षा अध्ययन गर्न र सरकारी जागिरमा भिड्न समस्या भइरहेको छ । बिशेष गरी उच्च शिक्षाको लागि युरोप, अमेरिका, भारत जान चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र नहुदा समस्या भइरहेको विद्यार्थीहरु बताउँछन् ।

प्रतिष्ठानबाट हरेक बर्ष युजि(अण्डर ग्राजुएट) र पिजी(पोष्ट ग्राजुएट) गरी सरदर ३ सय ५० को हाराहारीमा विद्यार्थीहरु पास आउट हुने गरेका छन् । सन् २०१६ यता पासआउट हुने विद्यार्थीहरुको संख्या हजार भन्दा बढी छ । दिक्षान्त रोकिएर प्रमाणपत्र पाउन नसकेपछि अहिले प्रतिष्ठानको शैक्षिक प्रशासनमा पत्र लिने आउनेहरुको संख्या बढीरहेकोछ । ‘दिक्षान्त नहुदा विद्यार्थीहरुलाई धेरै समस्या छ, दिनहुँ विद्यार्थीहरु आउछन्, हामी पत्र दिएर पठाइरहेका छौं,’शैक्षिक प्रशासनका प्रशासकीय सहायक गौरव सञ्जेलले भने,‘हामीले दिएको पत्रको मान्यता पनि कुनै देशमा २ बर्ष, कुनै देशमा ३ बर्षसम्म मात्र हुन्छ ।’

विद्यार्थीहरुले ट्रान्क्रिप्ट र प्रोभिज्नल सर्टिफिकेट मात्र पाइरहेका छन् । सटिफिकेट आश्यक पर्ने ठाउँमा उनीहरुले प्रतिष्ठानले दिक्षान्त नभएको भन्ने पत्र बुझाइरहेका छन् । तर, यो पत्रलाई अमेरिका र अष्ट्रेलियाले २ बर्षसम्मलाई मात्र मान्यता दिएको छ भने भारतले ३ बर्षसम्मलाई मान्यता दिएको छ । बेलायतले यो पत्रलाई मान्यता नदिदा त्यहाँ पढ्न चाहने विद्यार्थीहरु निराश छन् । ‘भारतमा ३ बर्षसम्म मान्यता पाएकोले पढ्न र काम गर्न मिल्यो, तर अब चौथो बर्ष लाग्यो, अब ठुलो समस्या हुदैछ,’प्रशासकीय सहायक सञ्जेलले भने ।

दिक्षान्त नभएका पत्र दिएर पठाउदै प्रतिष्ठान

bpkihs-dean-officejpg

विद्यार्थीहरुको भविष्यमाथि नै खेलवाड हुने अवस्था आएपछि प्रतिष्ठानको शैक्षिक प्रशासनले आवश्यक पर्ने विद्यार्थीलाई आधिकारिक पत्र दिएर पठाउने गरेको छ । शैक्षिक प्रशासनका अनुसार विद्यार्थीहरुलाई प्रोभिज्नल सटिफिकेटसँगै ‘विद्यार्थी पास भएको तर विविध कारणले सन् २०१६ देखि दिक्षान्त भएको छैन’ भन्ने व्यहोराको पत्र दिइने गरिएकोछ । त्यही पत्रको भरमा उच्चशिक्षा र जागिरको प्रक्रिया थाल्ने गरेका छन् ।
यस्तो छ, दिक्षान्त नहुनुको कारण

दिक्षान्त हुनको लागि प्रतिष्ठानको कार्यकारिणी समितिले ग्रेस लिष्ट अनुमोदन गरेर उपाधि पाउने विद्यार्थीहरुको नामावली सिनेट बैठकमा पेश गर्नुपर्छ । बैठकले स्वीकृत गरेपछि मात्र दिक्षान्त कार्यक्रम हुन्छ । प्रतिष्ठानमा हरेक बर्ष सरस्वती पुजाको दिन दिक्षान्त हुनेगथ्र्यो ।

पछिल्लो बर्षहरु प्रतिष्ठान निक्कै अस्थीरताबाट गुज्रियो । पदाधिकारीबीचको वेमेलले सिनेट बैठक मात्र होइन, कार्यकारिणी समिति बैठक बस्न पनि मुश्किल पर्यो । पदाधिकारीहरुको द्धन्दले विद्यार्थीहरुको समस्या ओझेलमा त पर्यो नै, सरकार परिवर्तनसँगै प्रतिष्ठानका कुलपति(प्रधानमन्त्री) र सहकुलपति(स्वास्थ्यमन्त्री) फेरिदा पनि यस्ता मुद्दा प्रभावित हुनपुग्यो ।

शैक्षिक प्रशासनका अनुसार पछि सिनेट बैठकबाट अनुमोदन हुने गरी कार्यकारिणी समितिले निर्णय गरेर प्रमाणपत्र वितरण गरिएको थियो । अहिले पनि प्रतिष्ठानको कार्यकारिणी समितिले सोही प्रकृतिको निर्णय गरिसकेकोछ । त्यसैले दिक्षान्त कार्यक्रम गर्न अब सिनेट बैठक पर्खनु पर्दैन । तरपनि अर्को प्राविधिक समस्या आइलागेको छ ।

दिक्षित हुने विद्यार्थीहरुको प्रमाणपत्रमा प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको हस्ताक्षर हुनेगर्छ । अहिले प्रतिष्ठानमा दुवै पदमा एकै व्यक्ति छन् । ‘प्रमाणपत्रमा भिसि र रेक्टरको सही गरेर दिनुपर्छ, दुवै पदमा एकै व्यक्ति हुनुहुन्छ । उहाँले दुवैमा सही गर्न मिल्छ कि मिल्दैन, त्यो उहाँको कुरा हो,’प्रतिष्ठानका एकेडेमिक डिन डा.सि.वि.झाले भने,‘हामीले लिखितरुपमा नै टिप्पणी उठाएर फाइल पठाइसकेका छौं ।’

प्रतिष्ठानका कार्यवाहक उपकुलपतिसमेत रहेका रेक्टर डा.गुरु खनालले आफु भर्खर मात्र जिम्मेवारी पाएकोले सुधार गर्न र समस्याहरुलाई क्रमशः हल गर्न लागिपरेको बताए । उनले यही पुष २५ गतेको लागि सिनेट बैठक तय गरिसकेको जानकारी दिदै आगामी फागुन महिनामा दिक्षान्त हुने सम्भावना रहेको पनि बताए । साथै, उनले प्रमाणपत्रमा रेक्टरको हस्ताक्षर गर्ने प्रयोजको लागि डिनलाई निमित्त रेक्टरको जिम्मेवारी दिइने पनि जानकारी दिए ।