विर्तामोड: विउ र मलमा ५० प्रतिशत अनुदान पाउन थालेपछि झापाको कमल गाउँपालिकाका किसानहरु आलु खेतीतर्फ आकर्षित भएका छन् ।

गाऊँपालिकामा विभिन्न ७ वटा कृषक समूहले जिल्लामा नमूना आलु खेती गर्दै आएका छन् । आलु पकेट कार्यक्रम मार्फत खेती गर्दै आएका कृषकहरुले यस वर्ष ६५ विगाह क्षेत्रफलमा आलु खेती गरेका छन् । पछिल्लो समय यो गाउँपालिकाका कृषकहरुले समूह बनाएर व्यवसायिकरुपमा खेती शुरु गरेका छन् । झापको कृषि ज्ञान केन्द्र मार्फत प्रदेश र स्थानीय सरकारले विऊ र मलमा ५० प्रतिशत अनुदान उपलव्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ६५ विगाहा ७ कठ्ठा क्षेत्रफलमा आलु खेती गरिएको वरिष्ठ आइपियम सहजकर्ता तथा आइपियम कृषि सहकारी संस्थाका कोषाध्यक्ष टंक कट्टेलले जानकारी दिए ।

कमल गाउँपालिकामा आलु उत्पादनसँगै यसको परिकार वनाउने काम समेत सुरु हुने भएको छ । आलुबाट बन्ने चिप्स उद्योग स्थापनाका लागि मोदर गार्डेन प्रालि र आइपियम कृषि सहकारी मिलेर करिव ३५ लाख लागतमा उद्योग स्थापनाको काम अघि बढाइएको छ । यसले किसानले उत्पादन गरेको आलुको वजारीकरणको समस्या केही हदसम्म समाधान हुने अपेक्षा लिइएको छ । विगत बर्षहरुदेखि नै व्यवसायिकरुपमा आलुको गुणस्तरीय विऊ उत्पादन र विक्री गर्ने गरेको आइपियम कृषि सहकारी संस्थाका अध्यक्ष याम वहादुर राईले वताए ।

यो गाउँपालिकामा ७ वटा कृषक समूहका १६५ जना किसानको सहभागिता छ । यो कृषक समुह झापा जिल्लामै नमूना रहेको गाउपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताए । निःशुल्क प्राविधिक सेवा सहित मल, विउ, टाइकोडर्मा जैविक विषाधी, ढुसीनासक विषादी, ५० प्रतिसत अनुदान सहित आलु ब्लग स्थापना हुने यस क्षेत्रमा स्थानियरुपमा उत्पादित टाइकोडर्मा जैविक विषादीको प्रयोग र प्राङ्गरिक मलको प्रयोग आलु खेतीलाई प्राथमिकता दिएको छ ।

यो बर्ष झण्डै ७ सय ८० मेट्रिकटन हाराहारीमा आलु उत्पादन गर्ने लक्ष्य रहेको आइपियम सहजकर्ता कट्टेलले जानकारी दिए । आलु ब्लग कार्यक्रम अन्तर्गत आलु भण्डारका लागि ७ लाखको लगानिमा भवन निर्माण, ६ लाख लगानीमा १० वटा साना सिंचाइ कार्यक्रम, १ लाख ५० हजार लागतमा १६ वटा भकारो सुधार कार्यक्रम, ३० हजारको लागतमा पावर स्प्रे ५ थान र प्रांगारीक मल उत्पादनमा पनि बजेट खर्च गरिने उनले बताए ।