धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति को बन्ला ? वीपी प्रतिष्ठानभित्र मात्र होइन, यो बिषयले धरानको राजनीतिक वृत्तमा पनि चर्चाको केन्द्र बनेको छ ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री भानुभक्त ढकाल अध्यक्ष रहेको ३ सदस्यीय सुझाव तथा सिफारिश समितिले तीन जना चिकित्सकको नाम उपकुलतिको लागि कुलपति एवं प्रधानमन्त्रीसमक्ष पठाइसकेको छ । प्रतिष्ठानको ऐन २०४९ वमोजिम सिफारिशमा परेका तीन मध्ये एक जनालाई कुलपतिले उपकुलपतिमा नियुक्ती गर्नेछन् । उपकुलपतिमा वीपी प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल, प्रतिष्ठानकै मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव शर्मा र विराट मेडिकल कलेजका मेडिसिन विभाग प्रमुख प्रा.डा.ज्ञानेन्द्र गिरी सिफारिशमा परेका छन् ।

नेकपा धरान उपमहानगर कमिटिले उपकुलपतिमा कार्यवाहक उपकुलति एवं रेक्टर प्रा.डा.खनाललाई बनाउन भन्दै सिफारिश गरेको पत्र शुक्रबार सार्वजनिक भएपछि यो बिषयले राजनीतिक वृत्तमा पनि चर्चा पाएको छ । नेकपाको पत्रबारे विभिन्न कोणबाट वहस तथा टिप्पणीहरु भइरहेको छ । यहाँ भने सिफारिशमा परेका तीन चिकित्सकहरुबारे संक्षिप्तरुपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

डा.ज्ञानेन्द्र गिरी

gyanendra-giri

जानकारहरुका अनुसार सिफारिशमा परेका तीन चिकित्सक मध्ये डा. गिरीको उपकुलति हुने सम्भावना सबैभन्दा बढी छ । डा.गिरी विराट मेकिडल कलेजका सञ्चालक र मेडिसिन विभाग प्रमुख पनि हुन् । उनी मुटु रोग बिशेषज्ञ हुन् । डा.गिरी कोशी अञ्चल अस्पतालबाट मेडिकल सुपरीटेण्डेट भएर अवकाश पाएका हुन् । उनी सुमेरु हस्पिटल, बि एण्ड बि हस्पिटल ग्वार्को र कान्तिपुर हस्पिटलका मुटु रोगको बिशेषज्ञ परामर्शदाताकारुपमा पनि छन् । उनले आसाम मेकिडल कलेज, भारतको एम्स र कोलोराडो युनिभर्सिटिबाट चिकित्सा शिक्षा अध्ययन गरेका हुन् । 

स्वास्थ्यमन्त्री ढकाल उनलाई नै प्रतिष्ठानको उपकुलपति बनाउन चाहन्छन् । प्रतिष्ठानको भिजन, मिशन अनुसार डा.गिरी नेतृत्व गर्न सक्षम भएको स्वास्थ्यमन्त्रीको बुझाई छ । गएको चुनावमा डा.गिरीले मोरङको निर्वाचन क्षेत्रमा ढकाललाई पुर्णरुपमा सहयोग गरेका थिए । ढकालका प्रतिद्धन्दी नोबेल मेकिडल कलेजका सञ्चालक सुनिल शर्मा थिए । डा.गिरी नोबेलका संस्थापक अध्यक्ष थिए भने कांग्रेस निकट पनि थिए । तर, शर्मासँग मतभेद बढेपछि उनले लगानी झिकेर विराट मेडिकल कलेज चलाएको जानकारहरु बताउँछन् । शर्मासँगको त्यही मतभेदले डा.गिरी गएको चुनावमा ढकालसँग निकट भएर प्रत्यक्ष सहयोग गरेका थिए । पछिल्लो समय नोबेलका सञ्चालक शर्माले स्वास्थ्य कार्यक्रमहरु मार्फत मन्त्री ढकालको निर्वाचन क्षेत्रमा प्रभाव जमाउदै लगेका छन् ।

डा. गुरु खनाल

guru-khanal

सिफारिशमा परेका अर्का डा.गुरु खनाल हाल प्रतिष्ठानको कार्यवाहक उपकुलपति छन् । उनी प्रतिष्ठानको रेक्टरको रुपमा नियुक्ती पाएका हुन् । तर, तत्कालिन उपकुलपति डा.राजकुमार रौनियार अख्तियारको फन्दामा परेपछि रेक्टर खनालले निमित्त हुदै कार्यवाहक उपकुलतिको जिम्मेवारी पाएका छन् ।
उनी हाडजोर्नीका बिशेषज्ञ चिकित्सक हुन् । हाडजोर्नी विभागको विभागीय प्रमुख पनि भइसकेका हुन् । उनी प्रतिष्ठानको अस्पताल उपनिर्देशक पनि रहिसकेका छन् भने कार्यकारिणी समिति सदस्य र सिनेट सदस्यकोरुपमा पनि अनुभव बटुलिसकेका छन् । उनी नेकपा निकट चिकित्सक हुन् । त्यसैले उनलाई उपकुलपति बनाउन स्वास्थ्यमन्त्री ढकाललाई आफ्नै पार्टीबाट पनि दबाब छ । प्रतिष्ठान भित्रका चिकित्सक, कर्मचारीहरुको एक खेमा पनि उनलाई नै उपकुलपति बनाउनुपर्ने लविङमा छन् । त्यसैले डा.गिरीको जतिकै डा.खनालको पनि उपकुलपति बन्ने सम्भावना छ ।

डा.खनाल पनि आफुले कार्यवाहक उपकुलपति भएको ७ महिनाको छोटो अवधिमा प्रतिष्ठानलाई सुधार गर्ने पहल गरेको दाबी गर्छन् । बन्द अवस्थामा रहेको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको, प्रतिष्ठानभित्रको अनियमिततालाई सार्वजनिक गरेर कारबाहीको दायरामा ल्याएको, आकस्मिक कक्षमा नयाँ सिटिस्क्यान ल्याएर सेवा छिटोछरितो ढंगले दिएको उनको दाबी छ ।

डा.सञ्जिव शर्मा

sanjiv-sharma

सिफारिशमा परेका तीन चिकित्सकमध्ये डा. सञ्जिव शर्मा सबैभन्दा कम राजनीतिक पहुँच र लविङ भएका चिकित्सक हुन् । उनी ३ जना भित्रको सिफारिशमा पर्छन् भनेर कसैले पनि अनुमानसमेत गरेका थिएनन् । तर,समितिले उनको पनि नाम सिफारिश गरेपछि वीपी प्रतिष्ठानमा हलचल मच्चियो भने धरानबासीहरुले उनलाई नै उपकुलपति बनाउनुपर्छ भनेर सामाजिक सञ्जालमार्फत आवाज उठाउन थालेका छन् ।
डा.शर्मा सिफारिशमा परेका ३ जना मध्ये सबैभन्दा बढी अध्ययन गरेका चिकित्सक हुन् । उनले कार्डियो (मुटु रोग) मा एम.डि. गरेका छन् । उनी मुटु रोगसँगै मृगौला रोग बिशेषज्ञ पनि हुन् । उनी अहिलेका चिकित्सकहरुमध्ये इमान्दार, सेवामा प्रतिबद्ध र पारदर्शी चिकित्सकको रुपमा परिचित छन् । एक समय वीपीका केही चिकित्सकहरुले उनलाई काममा अवरोध गर्दा चौधरी ग्रुपले राजधानीमा आएर काम गर्न प्रस्ताव गरेको थियो । उनलाई श्रीमती प्रा.डा.बसुधा खनालसहित काम गर्न आए करोड बढी तलब, सेवा सुविधाको प्रस्ताव गरेपनि डा.शर्माले अस्वीकार गरेर प्रतिष्ठानमा नै बसेका थिए । उनकी श्रीमती डा.खनाल वीपी प्रतिष्ठानस्थित माइक्रोबायोलोजी विभाग प्रमुख हुन् ।

अनुसन्धानमा पनि डा.शर्मा अन्र्तराष्ट्रियस्तरमा ख्याती कमाएका चिकित्सक हुन् । उनी विश्व स्वास्थ्य संगठनकोे सर्पदंष विशेषज्ञ टोलीका सदस्य छन् । उनले सन् २००३ देखि धरानसँगै पुर्वको विभिन्न जिल्लामा केएचडिसि कार्यक्रम चलाएर समुदायस्तरमा निःशुल्क स्वास्थ्य जाँच र गरिबलाई निःशुल्क औषधी वितरण गर्ने अभियान चलाएका छन् । यो अभियानबाट अहिलेसम्म ६० हजार भन्दा बढी सर्वसाधारणहरु यो अभियानबाट लाभान्वित भएका छन् । सुगर, प्रेसर, मुटु र मृगौला रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन उनले यो अभियान चलाएका हुन् । उनी विरामीको सेवामा कति प्रतिवद्ध छन् भने चितवनमा डि.एम.अध्ययन गर्न गएको बेला सातामा एक पटक के.एच.डि.सि.कार्यक्रममा विरामी जाँच गर्न धरान आउथे । उनी चितवनबाट शुक्रबार नाइटबस चढेर बिहान धरान आइपुग्थे । शनिबार दिनभर विरामी जाँच गरेर साँझमा पुनः चितवन फर्कने गर्थे । नेपालका थोरै मृगौला रोग बिशेषज्ञ मध्ये पनि उनी राजधानीको सेवा, सुविधा त्यागेर मोफसलमा बस्ने एक मात्र चिकित्सक हुन् ।