पथरी : मोरङको उर्लाबारी १ लक्ष्मीझारका भिम बहादुर श्रेष्ठले पहिला धान रोप्न परम्परागत पद्धती अपनाउथे । धानको बिउ लगाउनेदेखि लिएर बिउ उखेल्न सम्म मजदुरकै भरपर्नु पथ्र्यो । धेरै जनशक्ती लाग्ने भएकाले श्रमीकलाई तिर्ने पैसा पनि धेरै लाग्थ्यो । अब श्रेष्ठका ति दुःखका दिन अन्त्य भएको छ । उर्लाबारी नगरपालिकाले धानको बिउ लगाउन ड्रक सिडर मेसिन उपलव्ध गराए संगै धेरै किसानका दुःख मात्र अत्य भएको छैन् उत्पादन बढ्ने आश समेत किसानमा जागेको छ ।

नगरपालिकाले सो मेसिन यहाँका किसानलाई अनुदानमा उपलव्ध गराएको हो ।  कृषिमा आधुनिकीकरण भित्रिने क्रममा ड्रम सिडर भित्रीएसँगै धानखेती सहज हुने भएको छ । धान रोप्न ब्याड तयार गर्ने, बीउ उखेल्ने झन्झट बिनै सिधै ड्रम सिडरबाट धान रोप्न मिल्ने भएपछी किसान पनि मक्ख परेका छन् ।

उर्लाबारी नगरपालिकाद्वारा ७५.५ प्रतिशत अनुदानमा वितरण गरेको उक्त मेसिन र प्रविधिबाट धान खेती गर्दा ब्याड राख्नु नपर्ने, बिउ उखेल्नु नपर्ने, रोप्नु नपर्ने, लागत खर्च प्रति बिगाहा ८-१० हजार रुपैयाँ कम हुने भएकाले किसान उत्साही बनेको उर्लाबारी नगरपालिका कृषि शाखा प्रमुख अम्बिका प्रसाद लुइँटेलले बताए ।
धानको बीउ उपचार गरेर टुसा पलाउन लागेको बिउलाई ड्रममा राखेर तयारी जग्गामा धानको ब्याड राख्न तयार गरे जस्तै गरी खेतलाई हिल्याएर हातैले ड्रम तानेर बिउ रोप्न सकिने छ ।

यो प्रविधिमा झार आउने समस्या भएको हुनाले बिउ रोपेको २० देखि २५ दिन भित्रमा एसआरआइ विडरले गोडनु पर्ने अथवा झार नासक विसादी (नोमिनी गोल्ड) सोहि समयमा आधा एमएल विषादी एक लीटर पानीमा राखेर स्प्रे गर्नुपर्ने लुइटेलले बताए ।

विषादी स्प्रे गरेको ५ दिन खेतमा पानी नराख्ने र यसो गरेमा उत्पादन अन्य प्रविधिबाट रोपेको भन्दा नघट्ने बताइएको छ । यो ड्रम सिडर हलुका हुने हुनाले १२ देखि १४ वर्षका केटाकेटी देखी ७० बर्षका मानिसले पनि सहजै बिउ रोप्न सक्ने भएकाले जनशक्ति अभावमा समेत काम गर्न सकिने बताइएको छ ।
यस आर्थिक वर्षमा ५ थान सो मेसिन वितरण गर्ने योजना नगरले लिएकोमा उर्लाबारी १ मा रहेको चिसापानी लक्ष्मीझार कृषक समुहले सो मेसिन ७५ प्रतिशत अनुदानमा प्राप्त गरिसकेको छ । सो मेसिनको मूल्य १५ हजार ५ सय रुपैयाँ रहेको छ ।