इटहरी : निरन्तरको मेहनत पछि सफलताको उचाइमा पुग्न सकिन्छ भन्ने उदाहरण हुन् इटहरीका दिवस पोखरेल । २६ वर्ष लामो छापाखानाको अनुभव बटुलेका उनी मोरङ छापाखानाका सञ्चालक हुन् । इटहरीमा छापाखानाको क्षेत्रमा मोरङ छापाखाना छुट्टै ब्रान्ड हो । जसरी व्यवसायी माझ पोखरेल ब्रान्ड बनेका छन् ।

त्यहीँ ब्रान्डको पछाडि लामो धैर्यता र धेरै मेहनत लगानी भएको छ । छापाखाना सुरु गर्नुभन्दा पहिला पोखरेल पत्रकार थिए । विराटनगरबाट प्रकाशित हुने पुष्पाञ्जली साप्ताहिकका इटहरी संवाददाता थिए उनी । ‘त्यो बेला पत्रकार भएपछि सबैलाई थर्काउन पाइन्छ जस्तो लाग्थ्यो । पत्रकार भनेपछि प्रहरी प्रशासन देखी मन्त्री सम्म डराउँछन् भन्ने महसुस हुन्थ्यो ।,’ हाँस्दै उनी भन्छन् , ‘पछि गएर यसरी मात्र जीवन चल्दैन भन्ने लाग्यो । अनि भिनाजु कृष्ण प्रसाद अधिकारीले चलाएको दिङ्ला छापाखानामा काम सिक्न थाले । अहिले त्यसैले मेरो पहिचान बनाइदिएको छ ।’

काम सिकेको केही समयमै उनले आफ्नै छापाखाना खोल्ने निर्णय गरे । बाबु सँग पैसा माग्दा ५ हजार दिने भनेपछि उनले साथीभाइ सँग थप सहयोग मागे । पहिला देखिनै सामाजिक संस्थामा आबद्ध भएकोले धेरै साथीले ऋण पत्याए । त्यसैले बिराटचौक र उर्लाबारीमा दुई वटा छापाखाना खोले । उनी बाहिर भएपछि इटहरीमा छापाखाना चलाउने म्यानपावरको अभाव भयो । भिनाजुले इटहरी नै बस्नु पर्छ भनेपछि पुन: इटहरी फर्किए उनी ।

Diwas-Pokhrel-2

‘त्यो बिचमा मनमा धेरै कुरा आउँथ्यो । केही गर्नुपर्छ होला भन्ने त थियो । विदेश जाने कि भन्ने बारे पनि सोचेँ । तर हैन यतै केही गरा भन्ने लागेर व्यवसायीक रूपमा लागेको हुँ ।,’ उनले भने, ‘नेपालमै पहिलो पटक गिद्धे प्रेसबाट क्यालेन्डर छाप्ने काम पहिलो पटक म आफैले गरेको हुँ । त्यो मेरो जीवनको पहिलो सफलता थियो । धेरै खुसी भएको थिए म त्यो बेला ।’

कतिपय अवस्थामा अक्षर लिन पटना पुग्नुपर्ने अवस्था थियो । सुरुवातमा छपाईको प्लेट बनाउन धरान जानुपर्ने अवस्था थियो । त्यत्तिकैमा भारतका विभिन्न सहरबाट मेसिन ल्याएर छापाखाना लाई स्तरीय बनाउन लागी परे उनी । जसले गर्दा इटहरीबाट धेरै कुरा छपाउन बाहिर लैजानुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई छ ।

अहिले उनको छापाखानाले मासिक लाखौँ कारोबार गर्छ । लाखौँ पर्ने मेसिनहरू सञ्चालनमा छन् । त्यही छापाखानामा १० जना बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । इटहरीमा मात्र हैन नेपालमै पहिलो पटक झोला प्रिन्ट गर्ने मेसिन सञ्चालन गरिरहेका छन् । अहिले भर्खरै मात्र नेपालगन्जमा त्यस्तै मेसिन आएको पोखरेल सुनाउँछन् । अब केही दिनमै नयाँ प्रविधि सहितको मेसिन जडान गर्ने तयारीमा रहेको उनको भनाई छ ।

यो व्यवसायबाट धेरै व्यवसायीहरू पलायन भएको उनको अनुभव छ । व्यापार व्यवसाय सुरु गरेको केही महिनामै पलायन हुने क्रम बढ्न थालेका छन् । यो भनेको धैर्य गर्न सक्ने क्षमताको अभावमा र उच्च महत्त्वाकाङ्क्षा परिणाम भएको उनको निष्कर्ष छ ।

‘मान्छे धेरै महत्त्वाकाङ्क्षी भयो भने सबै कुरा सकिन्छ । तर सामान्य तरिकाले मेहनत गर्‍यो भने जुनसुकै हालतमा सफलता मिल्छ मिल्छ ।,’ उनी भन्छन्, ‘अहिले धेरै युवाहरू व्यवसायमा असफल भएको कारण आत्महत्या गरिरहेका छन् । त्यो भनेको आफ्नो क्षमता भन्दा बाहिरको काम गर्नु र सम्भावना अध्ययन नगरी काम गर्नुको परिणाम हो ।

एकै चोटि धनी हुन लागियो भने एकै पटक डुब्न पनि सकिन्छ ।’ ‘अधिकांश युवाहरूलाई छिटो भन्दा छिटो धेरैलाई पैसा कमाउने सोच पलाएको हुन्छ । जुनसुकै हालतमा पैसा कमाउने हरेक उनीहरूको उद्देश्य छ ।,’ उनले थप सुनाए , ‘तर केही सिप सिक्नुपर्छ भन्यो वा मेहनत गर्नुपर्छ भन्यो भने झन्झट मान्ने गर्छन् । धेरै कुरा युट्युबमा हेरेर पनि व्यवसाय गर्न सकिन्छ । कुनै रिसर्च छैन, हातमा सिप छैन अनि पैसाको पछाडि कुदेर के गर्नु ? त्यसैले मान्छेलाई डिप्रेसन बनाउँछ ।’

१० वर्ष सम्मको उद्योग वाणिज्य सङ्घमा काम गरेका उनी विभिन्न सामाजिक संस्थाको नेतृत्व तहमा काम गरेका युवा हुन् । उवासंघमा हुँदा पनि धेरै व्यापारी व्यवसायीमा उच्च महत्त्वाकाङ्क्षा समस्या पहिचान गरेको उनको भनाई छ । त्यसले स्वयम् व्यवसायीलाई मात्र हैन राज्यलाई पनि घाटा भएको पोखरेल बताउँछन् ।

विभिन्न संस्थामा आबद्ध भएका उनी सर्प दंश उपचार अस्पतालको संस्थापक अध्यक्ष पनि हुन् । नेपाली सेना सँगको सहकार्यमा २०६९ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म हजारौँलाई मृत्युको मुखबाट बचाएको छ । पूर्वी पृतना हेडक्वार्टर सञ्चालित उक्त अस्पतालको अध्यक्ष भएर जिम्मेवारी सम्हाल्न पाएकोमा सबैभन्दा धेरै गर्व महसुस भएको उनी बताउँछन् ।

‘हजारौँ मान्छेलाई मृत्युको मुखबाट बचाउने संस्थाको नेतृत्व गर्ने मौका पाएको त्यसमा म धन्य महसुस गर्छु ,’ उनी भन्छन् ।