इटहरी : ‘के गर्नु हौँ सर ! सटर बन्द गरेर चोर्न जाने बेला भएको छ । ६ जनाको परिवार छ । श्रीमती रोगी छे । उपचार गर्ने पैसा छैन । बाउ छोरा मिलेर खोलेको सैलुन बन्द गरेको ४ महिना हुन लागिसक्यो । अब चोर्नुपर्ने अवस्था आइसक्यो ।

धनीले कपाल काट्ने ठाउँमा खोल्दा कोरोना नसर्ने, गरिबलाई मात्र कोरोना लाग्ने हुन्छ ?, आक्रोशित हुँदै कपिलदेव ठाकुरले एकै स्वरमा सुनाए ।

विगत ५ वर्ष देखी इटहरीको सङ्गीत चौकमा दीपेश हेयर कटिङ सैलुन सञ्चालन गर्दै आएका उनी धेरै निराश र आक्रोशित देखिन्छन् । छेउछाउका अन्य सम्पूर्ण पसल खुल्दा उनको सैलुन मात्र बन्द छ । आक्रोश मिश्रित स्वरमा उनी भन्छन्, ‘अहिले कसैको ध्यान छैन । के गर्ने, के खाने समस्या भइसक्यो । बजारमा यत्रो भिडभाड हुँदा केही नहुने हामीलाई मात्र दुख दिने ? मासिक १२ हजार घर भाडा बुझाउनुपर्छ । कहाँबाट ल्याएर तिर्नु ? सैलुन खोल्ने बित्तिकै प्रहरीले धम्की दिन्छ ।’

यस्तै समस्या सुनाउँछ सेनेरिटी युनीसेक्स सैलुनका सञ्चालक उत्तम पौडेल । इटहरी ४ आइतबारेमा रहेको उनको सैलुन पनि बन्द भएको ३ महिना पुरा भयो । मासिक ५ हजार ५ सयका दरले भाडा तिर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । भाडा नतिर घरबेटीको किचकिच र सैलुन खोल्दा प्रहरीको गिरफ्तारीले समस्या पारेको उनले बताए । नेपालमै केही गरौँ भनेर १ वर्ष अघि मात्र विदेश बाट आएका उनी लकडाउनले सैलुन बन्द गर्नुपर्दा निराश भएको बताउँछन् ।

sailon-itahari-next

रञ्जन सैलुनका सञ्चालक रञ्जन ठाकुर पनि मासिक २५ हजार भाडा तिर्नुपर्ने बाध्यतामा छन् । सैलुन बन्द गरेको लामो समय बितिसक्दा समेत खोल्न नपाएर समस्या भएको उनको भनाइ छ । अरू बजार पसल सबै खुलिसक्दा सैलुन मात्र बन्द गर्नुपर्दा दुख लागेको उनको उनको गुनासो छ ।

यस विषयमा आफूहरूले नाई सङ्घका पनि कुरा उठाएको तर कसैले सुनुवाइ नगरेको कपिलदेवले बताए । नेपाल नाई सङ्घका सुनसरी सभापति राजेन्द्र ठाकुरले स्थानीय तह मार्फत केही कोसिस गरे पनि कुनै प्रगति नभएको उनको भनाइ छ ।

कोरोना सङ्क्रमण सँगै सरकारले घोषणा गरेको लकडाउनको कारण बन्द भएका व्यापार व्यवसायहरू पछिल्लो समय खुल्न थालेका छन् । तर सैलुन, पार्लर, फिल्म हल, रेस्टुरेन्ट तथा ठुला होटेलहरू अझै बन्द अवस्थामा छन् । लाखै लगानी गरेर सुरु भएका यस्ता व्यवसायहरू बन्द हुँदा हजारौँ मजदुर र लगानीकर्ताहरू समस्यामा पर्न थालेका छन् ।

उता इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले सैलुन र पार्लरबाट सबैभन्दा धेरै सङ्क्रमण फैलिन सक्ने भन्दै सैलुन खोल्न नदिएको बताए । बन्द कोठा भित्र ब्लेड, पानी, हातको प्रयोग धेरै हुने भएकोले सङ्क्रमणको जाखीम धेरै हुने उनको भनाइ छ ।