झापा : मेचीनगर-९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने परशुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका सोही ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयङ्कर भनिने भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । दुवै जना नातामा काका-भतिज हुन् ।

बयानका आधारमा मृतक गौतम र भुखन किसानबिच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरेको भन्ने खुलेपछि प्रहरीले ७ गते नै मेचीनगर-६ काँकडभिट्टाबाट भुखनलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ पुर्जी दिई पक्राउ गरेपछि भुखनले गौतमलाई कुटपिट गरी कर्तव्य गरी मारेको र सो समयमा लगाएको कपडाहरू काकाको घरमा रहेको माछा मार्ने ढोक्सामा राखेको, फेरि कसैले भेट्लान् भनेर घर नजिकै रहेको पानी जमेको पैनीमा फालेको र भेष्ट बाहिरबाट लगाएको पातलो ज्याकेट समेत घरमा राखेको बयान दिएका थिए ।

दुवैलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद अनुमति लिएर इलाका प्रहरी कार्यालय दुलावारिबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।