विराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् ।

आज विराटनगरस्थित कोइराला निवासमा संवाददातासँग कुरा गर्दै कोइरालाले सत्तारुढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको सङ्क्रमण भयावह रूपमा फैलिएको आरोप लगाए ।

“कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो, उनले भने, “सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।”

उनले कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिकेर तत्काल खोप खरिद गर्न सरकारलाई सुझाव दिए । उनले विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरिद गर्नुपर्नेमा जोड दिए ।

उनी भन्छन्, “सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउनका लागि अनुदानमा होइन विकास खर्च कटौती गरेर भए पनि खोप खरिद गर्नुपर्छ ।” कोइरालाले अमेरिका, रुस, चीन, भारत जहाँबाट भए पनि जतिसक्दो चाँडो खोप खरिद आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, “उत्पादक राष्ट्रसँग सिधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प छैन ।” खोप नलगाएका भन्दा लगाएकामा सङ्क्रमणको जोखिम कम भएको उनले बताए ।

कोइरालाले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको सरकार मिलेर युद्ध स्तरमा अस्थायी अस्पताल बनाउनु आवश्यक रहेको औँल्याए । उनले वडा तहसम्मै आइसोलेसन बनाउनुपर्नेमा समेत जोड दिए ।

अक्सिजन प्लान्ट र अक्सिजनको जोहो गरेर वितरण प्रणालीलाई समेत व्यवस्थित बनाउन उनले आग्रह गरे । अस्पतालहरूले १५ दिनभित्र अक्सिजन प्लान्ट स्थापना गर्न सम्भव नभएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा कोइरालाले वर्तमान सरकारलाई विस्थापित गरेर जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्न नसक्नु काँग्रेसको कमजोरी रहेको टिप्पणी गरे ।

“पुस ५ को कदमलाई काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले उसले यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्थ्यो,” उनले थपे, “त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट विश्वास गुमाएको अवस्थामा काँग्रेसको नेतृत्वमा सरकार नबन्ने भएपछि जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउन पहल नगर्नु काँग्रेसको कमजोरी हो ।”

उनले प्रधानमन्त्री ओलीको पुस ५ को कदमपछि राजनीतिक दलहरूमा ध्रुवीकरण बढेको उनको टिप्पणी थियो ।

उनले दलहरूबिच ध्रुवीकरण बढ्दा लोकतन्त्र नै कमजोर बन्ने अवस्था आएको सुनाए । “पुस ५ पछि दलहरूबिच तीव्र ध्रुवीकरण भयो, सत्तारुढमा मात्रै नभएर प्रतिपक्ष दलमा पनि ध्रुवीकरण देखियो,” कोइरालाले भने, “काङ्ग्रेसमै पनि एउटा पक्ष चुनावमा जानुपर्छ भन्ने थियो भने अर्को पक्ष संसद् पुनः स्थापना हुनुपर्छ भन्ने थियो ।”