इटहरी : अर्थशास्त्री तथा योजनाविद्हरूले बजेट पूर्व तयारी बिना आएको बताएका छन्। बजेट सबैलाई चित्त बुझाउने खालको भए पनि यसको कार्यान्वयन पक्ष समस्याग्रस्त देखिने उनीहरूले बताए । पूर्व तयारी बिना संसद् छलेर आएको बजेटले भविष्यमा आर्थिक अराजकता बढाउन सक्ने उनीहरूको टिप्पणी गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आयोजना गरेको 'बजेटले वर्तमान आर्थिक अवस्था र महामारीमा सँग लड्न कस्तो सहयोग गर्छ ?' भन्ने विषयको भर्चुअल मा बजेट बारे समीक्षा भएको छ ।

आइतबारको छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू, अर्थविद् तथा काँग्रेस नेताहरूले धारणा राख्दै बजेटले आर्थिक अराजकता निम्त्याउने धारणा राखे।

बजेटको अवस्था र कार्यान्वयन पक्षको बारेमा डाक्टर कोइरालाले प्रश्न गरेका थिए । उनले संसद् भित्र पेस हुनुपर्ने बजेट सिंहदरबारमा हुन अपराधीक काम भएको टिप्पणी गरे । काँग्रेसले यो बजेट स्वीकार नगर्ने र संसद् पुनर्स्थापना भएपछि पुन:नयाँ बजेट ल्याउने धारणा राखे । जनशक्तिलाई ध्यान नदिई बजेट मात्र पुर्‍याएर कुनै उपलब्धि नहुने उनको तर्क छ।

अर्थविद् डाक्टर विश्व पौडेलले एक खर्ब भन्दा बढी कोभिड महामारी नियन्त्रणमा बजेट विनियोजन हुनु खुसीको कुरा भएको बताए । तथापि अघिल्लो पटक पनि यसै गरी बजेट आएको तर कार्यान्वयन नभएकोले यो बजेटको पनि पुर्वतयारी नपुगेको उनको भनाई छ।

रोजगारी सृजनाको क्षेत्रमा बजेट मौन छ। “छोटो समयको सिप मूलक कार्यक्रम ल्याउनु पर्ने थियो। जसले गर्दा साना उद्यमी तथा रोजगारीको अवस्था सृजना हुन्छ। भूकम्प प्रभावितको लागी कुनै पनि सुनवाइ भएको देखिएन, उनले भने ।”

budget-gagan

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरले बजेट छुट्याएर मात्र हुँदैन त्यसको पूर्व तयारी कतिको बलियो हुन्छ भन्नेले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले धारणा राखे । “यो सरकारले पहिलो वर्षको बजेटमै स्वास्थ्य क्षेत्रमा र प्रमाणपत्र धितो राखेर लोन लिने कुरा थिए । तर कार्यान्वयन भएन । यसको मतलब बजेट तयारी बिनाको नारा जस्तो भयो ।,” उनले भने,  “गत साल आइसियु र भेन्टिलेटर राख्ने कुरा थियो ।

लोकलाई रिझाउन बजेट आएजस्तो देखिन्छ । यसले अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैन ।” अहिलेको सरकार र अहिलेकै व्यवस्थापनमा यो बजेट खर्च हुने सम्भावना नभएको उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगका अर्का पूर्व उपाध्यक्ष मीन बहादुर श्रेष्ठले ऋण आफैमा समस्या नभएको र त्यसको उपयोग कुन ठाउँमा प्रयोग हुन्छ भन्नेले निर्भर गर्ने धारणा राखे । “सरकारले धेरै ऋण लिएर थप आर्थिक उन्नति गरेको भए धेरै फाइदा हुन्थ्यो । ऋण लिएको पैसा अनुत्पादक क्षेत्रमा बाढ्न थाल्यौ भने यसले फाइदा गर्दैन ।,” उनले भने, “राजस्व सङ्कलनको सङ्कट त्यही हिसाबमा बढिरहेको छ। सरकारको काम गर्ने क्षमता कमजोर प्रमाणित भइसक्यो । बजेट कार्यान्वयन हुन्छ भनेर विश्वास गर्ने आधार छैन ।”

श्रेष्ठकै भनाइमा सहमत जनाउँदै अर्का पूर्व उपाध्यक्ष जगदीश पोखरेलले बजेट राजनैतिक हिसाबका सबैभन्दा धेरै सफल डकुमेन्ट भएको बताए । तर यस्तो महामारीमा पनि सामान्य अवस्थामा जसरी बजेट ल्याइएको र राजनैतिक इमान्दारीताको कमी देखिएकोले यसले अराजकता बढाउन सक्ने सम्भावना रहेको उनको बुझाई छ।

राजनैतिक हिसाबमा बजेटको टिप्पणी गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले संसद् छलेर अलोकतान्त्रिक र अनैतिक हिसाबले बजेट आएको बताए । कामचलाउ सरकारले ल्याएको बजेटको मोडालिटी नै गलत भएको उनको भनाई छ । “यो बजेटलाई राम्रो हो भन्दै टिप्पणी गर्न थालियो भने भोलि यही संस्कार स्थापित हुन सक्छ । चुनावको बेला संसद् छलेर बजेट ल्याउने नजिर स्थापित भयो भने भोलि राजनैतिक र आर्थिक दुवै अराजकता स्थापित हुँदै जाने वाला छ,” उनले भनेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले जनताको गुणात्मक शिक्षा र दहेजको समस्या ज्युका त्युँ हुँदा पनि बजेट चुनावी नाराको हिसाबमा आएको बताए । सुन्दा धेरै राम्रो सुनीएपनि वास्तवमा निक्कै आतङ्कवादी बजेट आएको उनको बुझाई छ।

यो बजेटले आर्थिक अराजकता बढाएको छ र यसले भविष्यमा समस्या निम्त्याउने उनको भनाई छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटको पुर्णपाठ सहित