धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विद्यमान विकृति, विसङ्गति, बेथिति अन्त्य गर्नका लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले पहिलो चरणमा संवाद हुने , दोस्रो चरण अनुसन्धान तथा अनुगमन हुने र तेस्रो चरणमा कारबाही समेत हुने जनाएको छ ।

दबाब सञ्जाल बनेपछि उद्योग वाणिज्य सङ्घ सुनसरी धरानमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, स्थानीय प्रशासन, सरकारी कार्यालय, अन्य क्षेत्रहरूमा सबै विकृति, विसङ्गतिको सूक्ष्म अध्ययन गरी तिनको निराकरण गर्ने र जनमुखी, सेवामुखी बनाउन जोड दिनका लागि सञ्जाल जोडदार रूपमा लाग्ने बतार्ईएको छ ।

सञ्जालले प्रतिष्ठान नै मुख्य समस्याको जग भएकाले प्रतिष्ठानबाटै अभियान थाल्ने भन्दै आज प्रतिष्ठानका पदाधिकारी भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र बुझाएपछि केही समय छलफल समेत भएको थियो ।

प्रतिष्ठानको विद्यमान विकृति, विसङ्गति, बेथिति अन्त्य र सुधारका लागि भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरान नागरिक दबाब सञ्जाल लगायतको टोली त्यहाँ पुगेर ज्ञापन पत्र बुझाएको हो ।

संवाद सहित दबाब दिन पुगेका सञ्जालका पदाधिकारीले र पत्रकारले पैसाको चलखेल हुने गरेको गुनासो बढ्दै गएको, नेतृत्वबीचको टकराब, सेवा चुस्त दुरुस्त नभएको, कमिसनको कारणले मेसिन गुणस्तरहीन खरिद गरिनु, प्रतिष्ठानको साख गिराएर अन्य अस्पताललाई अग्ल्याउने प्रयास, प्रतिष्ठानमा अहिले कोभिड अस्पतालको हालत लथालिङ्ग भएको, इमरजेन्सी, आइसियु, अक्सिजन लगायतका सेवामा लापरबाही, प्रतिष्ठानमा कोरोनाका बिरामीले सहज भर्ना हुन नसकेको, १ सय बेडको अस्पतालको व्यवस्था गर्ने भनिए पनि ७७ बेड मात्र भएको अवस्था, बिरामी पुगिहाले पनि लामो समय नहेर्ने, कुर्दाकुर्दै बिरामीको मृत्यु हुने अवस्था, अस्पतालमै लडेर बिरामीको मृत्यु हुने गरेको, उपचारका लागि बाहिर (विराटनगर वा बिर्तामोड) पुग्नुपर्ने, मेसिनहरू कहिल्यै चुस्त दुरुस्त नहुने, अक्सिजन ग्यासको अभाव, भेन्टिलेटरको अभाव, आइसियुको दुरावस्था र चरम लापरबाही देखिएको भन्दै र प्रतिष्ठान जस्तो ठाउँमा शौचालय पनि नभएको भन्दै धेरै प्रश्नहरू समेत गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आफूहरूले प्रतिष्ठानकै ऐनमा रहेर कार्य गदै आएको र आरोप अनुसार छलछाम नगरीकन काम गर्दै आएको बताउँदै उनले अबका दिनमा केही कमी कमजोरी भए सुधार्दै जाने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, कोरोना अस्पतालमा अस्तव्यस्तता, मर्मतका नाममा धेरै खर्च गर्नु, बेरुजु फच्यौंट नहुनु, फार्मेसी सञ्चालनमा लापरबाही, रिपोर्ट विश्वासिलो नआउनु, बाहिर जँचाउन बिरामीलाई प्रेरित गर्नु, नियम मिचेर भुक्तानी हुनु, टेन्डर रद्द, पर्दापछाडि लेनदेन हुनु, किनेर ल्याइएका मेसिन थन्क्याएर काम नलाग्ने बनाइनु, मेसिन बिग्रिरहनु, इमरजेन्सी सेवा चुस्त दुरुस्त नहुनु ,व्यवस्थापनको चरम लापरबाही,उपचार सेवा र सुविधा दिनुपर्ने यस्तो संस्था आफैँ भ्रष्टाचार, अनियमितता र अरबैको बेरुजुको सिकार रहेको र भ्रष्टाचार, कमिसन, दलाली र बिचौलियाको दबदबाले संस्था रुग्ण बन्दै गएको सञ्जालको ठहर छ ।

दबाब सञ्जालले तत्कालै वर्तमान अवस्थाको चित्रण सहितको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, सेवा सुचारु हुन नसकेका उपकरण, मेसिन मर्मत सम्भार गरी सुचारु हुनुपर्ने, अक्सिजन प्लान्ट सञ्चालन गर्दै सहज अक्सिजनको व्यवस्था गर्नुपर्ने, सुलभ पहुँचको व्यवस्था, कोभिड अस्पतालको गुणस्तरीय सेवा दिइनुपर्ने, नागरिकले स्वास्थ्य बिमाको उपयोग कोभिडको हकमा पनि गर्न पाउनुपर्ने, इमरजेन्सी प्रभावकारी बनाइनुपर्ने, फार्मेसी व्यवस्थित हुनुपर्ने, मातृ शिशु वार्डमा बेड थप गरिनुपर्ने, अनियमितताको निर्मूलीकरणको प्रतिबद्धता जनाइनुपर्ने लगायतको माग पनि राखेको सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले बताए ।

यी सुधारका लागि एक हप्ताको अल्टिमेटम दिइएको र सुधार नभए अर्को चरणको कार्यक्रम ल्याइने संयोजक शर्माले जानकारी दिए । प्रतिष्ठान धरानवासीको हो भन्ने ध्येयले हामी संवादबाट अगाडी बढेका छौ भने सुधार होस् भनेर हामीले सात दिनको अल्टिमेटम दिएका छौ । सुधार नभए अर्को चरणको कार्यक्रम लिएर प्रतिष्ठान पुग्ने योजना रहेको संयोजक शर्माको भनाई छ ।

सञ्जालले सक्रियताका साथ काम गर्न थाले पछि प्रतिष्ठान सुध्रिन्छ भन्ने विश्वास आम जनतामा पलाउन समेत थालेको छ । आजको छलफलमा पनि एक प्रकारले प्रतिष्ठानले हामी प्रतिष्ठानका कमी कमजोरीहरूलाई सुधार गर्छौं भन्ने निष्कर्ष पनि निस्किएको छ ।