सुनसरी : तराई मधेसमा बसोबास गर्ने मधेसी तथा मैथल समुदायका महिलाहरूले आफ्नो पतिको दीर्घायुको कामना गर्दै वरको निष्ठासँग पूजा आराधना गरी बिहीबार बटसावित्री अर्थात् बरसाइत पर्व मनाएका छन् ।

नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट बच्नका लागि सुनसरी प्रशासनले निषेधाज्ञा गरेको भएता पनि प्रत्येक वर्षको जेष्ठ महिनाको अमावस्या (औशि) तिथिमा नव विवाहित तथा विवाहित महिलाहरूले मनाउने यस पर्वमा देवी पार्वती, सावित्री र नाग–नागिनीका साथै बरको बोटको पूजा आराधना गरी आफ्नो पतिको दीर्घायुको कामना गर्दै घरमा सुख शान्ति समृद्धिका लागि बटसावित्री पर्व मनाइने चलन छ ।

व्रतालु महिलाहरूले बिहानै देखि उपवास बसेर स्नान गरी चोखिएर नयाँ लुगा अर्थात् विवाहमा लगाएका लुगा गरगहना लगाई पूजाको थालीमा आँप केरा, हाते पङ्खा, मिठाई, चना, काँक्रो बाँसको डाला छिटा पान सुपारी पहेँलो धागो वरको बोटमा बेरी पूजा सामाग्रीले वरको बोटमा चढाई सावित्री, नाग–नागिनी र पार्वतीलाई प्रसाद चढाउने प्रचलन रहेको छ ।

पौराणिक कथा अनुसार सावित्रीका पति सत्यवानको आयु एक वर्ष मात्र रहेको अवस्थामा वनमा गई दाउरा काटी रहेको अवस्थामा अचानक सत्यवानको टाउको दुखेको कारण वरको रूखमुनि आफ्नी पत्नीको काँखमा सुतेको समयमा मृत्यु भई यमराज आई पतिलाई आफ्नो साथमा लगी रहेको देखि सावित्रीले आफ्नो युक्तिबाट यमराजको हातबाट पतिलाई बचाई नयाँ जीवन दिलाउन सफल भएको हुँदा मधेसी समुदायका महिलाहरूले वटसाबित्री पर्व मनाउँदै आएको रामधुनी ८ का जानकार बद्री नारायण चौधरीले बताए । सोही समय देखि विवाहित महिलाहरूले यो पर्व मनाउँदै आएको बताइन्छ ।

इनरुवा–८ बंकुलवाकी एक व्रतालु सुनिता देवी मण्डलका अनुसार सावित्रीले आफ्नो पतिलाई यमराजको हातबाट मुक्त गराउन सफल भए पछि यो व्रत सुरु भएको धार्मिक विश्वास रहेको हुँदा सोही अनुसार मैले पनि यो व्रत लिएर वरको पूजाआजा गरी पतिको दीर्घायुको कामना गरेको बताइन ।

त्यसै गरी सोही व्रत लिने अर्का व्रतालु इन्दिरा देवी मण्डलले आफ्नो छोरीको भरखर विवाह भएको हुँदा छोरीले पनि व्रत लिएकी छन् भने मैले पनि व्रत लिँदै आएकी छु ।’ बिशेषगरी नव विवाहित महिलाहरू अत्यन्त उत्साह र धूमधामका साथ यो पूजामा सहभागी हुने गर्दछ भने नव विवाहित महिलाले घरबाट माइतमा ल्याएको नयाँ वस्त्र धारण गरी साथीहरूका साथमा विवाह र बरसाइत पर्वको पारम्परिक गीत गाउँदै बरको रुखमुनि भेला भई पूजा पाठ गर्ने प्रचलन पौराणिक समय देखि नै रही आएको छ ।

Barsait-Parba