झापा : मध्य बर्खाको सिजनमा पनि किसानले सहज रूपमा रासायनिक मल उपभोग गर्न नपाउँदा किसान निराश बनेका छन् । कृषि प्रधान देशमा किसानले रासायनिक मल युरिया र डिएपी सहज रूपमा नपाएको पटक पटक गुनासो आइरहन्छ। तर, सरोकारवाला निकायले आजसम्मपनि किसानको यो गुनासोको सुनुवाइ गर्न सकेका छैनन् ।

रासायनिक मल बिक्री गर्ने संस्थाले किसानलाई आवश्यकता अनुसार मल दिन नसक्दा रासायनिक मलको हाहाकार भएको छ । खेती गर्ने समय सुरु भएर पनि मध्य अवस्थामा पुगिसकेको छ तर रासायनिक मल लिनको लागि किसान सहकारी संस्था धाउन बाध्य छन् । उनीहरू सहकारी संस्था खुल्नुभन्दा २–३ घण्टा अगावै सहकारी पुग्ने गरेका छन् । धान रोप्ने मारामार कामलाई थाती राख्दै किसान मल पाउने आशामा सहकारी धाउन बाध्य बनेका हुन् ।

उनीहरू सहकारी संस्था खुल्नु भन्दा २ घण्टा अगाडि देखिनै सहकारीको ढोका अगाडी उभिएका हुन्छन् । रासायनिक मल नलगाई धान नफल्ने भएकाले ढिलो भएमा मल नपाइने हो कि भनेर सहकारी खुल्नु भन्दा अगाडी नै सहकारी संस्था आएर बसेको गौरादह-८ का अनिल भण्डारी बताउँछन् ।

रासायनिक मल डिएपी र युरिया लिनको लागि गोजीमा पैसा बोकेर गए पनि सहज रूपमा पाइँदैन । सहकारी संस्थालाई मल लिनको लागि नेपाली नागरिकता र जग्गा धनिपुर्जाको फोटो कपि पेस गर्नुपर्छ । किसानले नागरिकता र धनी पुर्जाको फोटो कपी पेस गरे पनि आफूलाई चाहिए जति पाउदैनन ।

खेती धेरै हुने किसानले रासायनिक मल लिनको लागि नागरिकता र धनी पुर्जाको फोटोकपी पटक पटक बोकेर सहकारी धाउनु पर्ने बाध्यता छ। रासायनिक मल लिन गएपिच्छे फोटोकपी बोकेर जानू पर्छ। भुसको मूल्यमा धान बिक्री गरेका किसानलाई मल लिन भने नागरिकता र धनी पुर्जाको फोटोकपी पेस गर्नुपरेको छ। खेती गर्ने समयमा सहज रूपमा रासायनिक मल नपाउँदा किसानलाई हैरानी भएको छ।

किसानले पैसा तिरेर मल किन्न खोज्दा पनि सहज रूपमा नपाउनु दुर्भाग्य भएको गौरादह-७ का किसान गणेश दाहाल बताउँछन् । किसानले राहत त पाएनन् तर मल बीउ भने सहज रूपमा पाउनु पर्ने दाहालको भनाइ छ।

“धान रोप्ने बेलामा पनि यस्तो तनावले रोप्नुपर्छ अनि बल्ल तल्ला रोपेको धान पाकेर बेच्ने बेलामा फेरी उस्तै समस्या । न त किसानको लागत उठ्ने गरिको मूल्य हुन्छ न त सहज रूपमा धान नै बेच्न पाइन्छ ।” गौरादहका अर्का किसान महेन्द्र बुढाथोकी गुनासो गर्छन् ।

अधिकांश मानिसहरूले खेती गर्ने भएकाले सरकारी तवरबाट आउने मल किसानले सहज रूपमा आफूलाई पायक पर्ने ठाउँबाट किन्न पाउनुपर्ने हो । एउटै पालिका भित्र बसोबास गरे पनि किसानले पायक पर्ने ठाउँमा मल किन्न पाउँदैनन् । एउटा सहकारीले एउटा वडाका किसानलाई मात्र दिने गरेका छन् । आफू बसेको वडाले तोकिएको स्थानमा मात्र मल खरिद गर्न पाइन्छ ।

बेचेको तथ्याङ्क नगरपालिकामा पठाउनुपर्छ  : सहकारी व्यवस्थापक

रासायनिक मल डिएपी र युरिया कृषि सामाग्री कम्पनीले थोरै मात्रामा पठाएकाले किसानलाई पनि एकै पटकमा चाहिए जति दिन नसकेको जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य व्यवस्थापक कुमार चापागाईँ बताउँछन्।

किसानलाई के कति मात्रामा मल दिएको हो त्यसको विवरण नगरपालिकामा पेस गर्नु पर्ने भएकाले किसानसँग नागरिकता र धनिपुर्जाको फोटोकपी लिनु परेको उनले सुनाए ।