हर्ष सुब्बा
धरान : धरान स्थित बुढासुब्बा मन्दिर परिसरको टुप्पो नहुने बाँस नष्ट हुने अवस्थामा पुगेकोले संरक्षण कार्य थालिएको छ । मन्दिर अगाडि पश्चिमोत्तर र दक्षिण तर्फ बाँसका चार ठुला झ्याङहरू छन् । बुढासुब्बाको किम्बदन्तीसँगै जोडिएको उक्त बाँसको प्रजाति तिन शताब्दी पुरानो मानिन्छ ।
दशक यता बाँसमा नयाँ तामा नलाग्दा झ्याङको बिच भाग खाली हुँदै आएको छ । झ्याङको वरिपरि सिमेन्टको टेवा पर्खाल लगाइएको थियो । सोही अवस्थामा रहे बाँस बिस्तारै नष्ट हुने सरोकारवालाहरूले चिन्ता गर्न थालेका थिए । यसबारे गत वर्ष पुजारी उत्तम आले मगरले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।
उहाँका अनुसार वनस्पति विज्ञले अध्ययन गरी सिमेन्टको टेवा घेराले बाँसलाई अवरोध गरेको प्रतिवेदन दिएपछि उपमहानगरपालिकाले संरक्षण कार्य थालेको हो । अहिले सिमेन्टको टेवा पर्खाल सहित बनाइएको श्रद्धालु बस्ने ठाउँ हटाइएको छ । बाँसको लागि १० फिट ठाउँ छाडेर सिमेन्ट बिना ढुङ्गाको टेवा उठाउने कार्य धमाधम भइरहेको छ ।
संरक्षण कार्यका लागि चालु आर्थिक वर्षको बजेटबाट कुल १० लाख रुपैयाँको लागत स्टमेट बनेकोमा उपमहानगरपालिकाले ९ लाख बाँकी उपभोक्ता समितिले बेहोर्नु पर्ने छ । अहिले संरक्षण कार्य भइरहेको बाहेक दक्षिण तर्फ ठुलो झ्याङको अवस्था पनि त्यस्तै छ । सामाजिक अभियन्ता प्रेम पराजुलीले भने ‘नगरपालिकाले आउँदो बजेटमा त्यसको लागि बजेट छुट्याउन जरुरी छ ।’
यसअघि बुढासुब्बाको बाँस नष्ट हुन लागेको समाचार मिडियामा आएपछि तत्कालीन नगर प्रमुख तिलक राईले दुई पटक स्थलगत अवलोकन गरेका थिए । पछिल्लो पटक केन्द्रीय प्रविधि क्याम्पसका वनस्पति शास्त्रका प्राध्यापक सञ्जु पराजुली सहितको टोलीलाई बाँसको अवस्था अध्ययन गरी संरक्षणका उपाय बारे लिखित प्रतिवेदन पेशगर्न लगाइएको थियो ।
वनस्पति शास्त्रकी प्राध्यापक पराजुलीका अनुसार बाँसको झ्याङलाई घेरा गरी सिमेन्टको पर्खाल लगाएकोले बाँस प्रभावित भएको बताइन् । बाँसको वंश वृद्धिका लागि सूर्यको प्रकाश र पानी आवश्यक हुन्छ । बुढासुब्बाको बाँसका झ्याङहरू बढेर प्रकाशको अभाव भएका बिचका भागमा बाँसको टुसा पलाउन नसकेको हो । सिमेन्टको संरचनाले पानी सोसेर राख्ने प्रक्रिया पनि अवरुद्ध भएको उनको भनाई छ ।
budhasbba-bans-3बाँसको प्राकृतिक विकास झ्याङ बढ्दै गएपछि सूर्यको प्रकाश जतातिर बढी हुन्छ त्यतैतिर नयाँ झ्याङ बढ्दै जाने स्वभाव हुने बताउँदै पराजुलीले भनिन् 'यहाँ बाँस झ्याङलाई घेरा गरी सिमेन्टको पर्खाल लगाएकोले प्राकृतिक रूपमा बाँस अघि बढ्न पाएको देखिएन ।' यस्तै अवस्था रहेमा नयाँ बाँस पलाउने प्रक्रिया अवरुद्ध हुनसक्छ ।
पुजारी आलेका अनुसार गएको ७-८ वर्षयता बुढासुब्बाको बाँसका झ्याङहरू बिचमा नयाँ तामा नलागी खाली हुँदै गएको देखिन थालेको हो । हरियो बाँसका बोटहरूमा खोपेर श्रद्धालु युवा युवतीले प्रेमको चिनो स्वरूप नाम लेख्ने प्रचलन बढेको थियो । त्यसले बाँसको वृद्धिमा असर पुर्‍याएको अनुमान गरी बाँस खोप्न प्रतिबन्ध लगाइएको थियो । त्यसै अवधिमा सिमेन्टको दुई देखी तीन फिट सम्मको टेवा उठाएर बाँसलाई तार जाली समेत लगाइएको हो ।
बुढासुब्बा विजयपुरको इतिहाससँगै जोडिएको पाइन्छ । त्यस आधारमा यहाँको बाँसको प्रजाति तिन शताब्दी पुरानो मानिएको हो । पृथ्वी नारायण शाहको एकीकरण अभियान विसं १८३० तत्कालीन चैनपुर हुँदै विजयपुर तिर आएको अनुसन्धाता अर्जुनबाबु माबुहाङले उल्लेख गरेका छन् । लिम्बुवानका अर्का अनुसन्धाता डा.कमल तिगेला अनुसार त्यस अघि सेनहरुले विजयपुरमा शासन गरेका थिए ।
पुजारी आलेका अनुसार उनका पुर्खाहरूलाई पूजाआजाको लागि प्रदान गरिएको निशान नेपाल एकीकरण भन्दा अघिको अघिको हो । पुरातत्त्व विभागबाट आएका विज्ञहरूले यसको पुष्टि गरेका उनको भनाई छ । त्यस बेलाका तरबार जन्य हातहतियारहरू पनि छन् । तर, निशानमा संवत् भने छैन । डा.तिगेला भन्छन् ‘उक्त निशान सेनकालमा सेनवंशी राजाले दिएको हुनसक्छ ।’
बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारण किम्बदन्ती पनि छ । प्रागैतिहासिक कालमा लिम्बु दाजु बहिनी सिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए । उनै सिकारीको धनुषवाण पलाएकोले बाँसको र टुप्पो नभएको हो । बुढासुब्बामा दाजुको मुख्य र बहिनीको सुब्बिनी मन्दिर छ ।
बुढासुब्बाको टुप्पो विनाको बाँसको प्रजातिका बारेमा आधिकारिक अनुसन्धान भएको पाइन्न । पहाडी क्षेत्रमा पाइने भालुबाँस प्रकृतिको उक्त बाँस भानुबाँस भने नभएको नर्सरी विज्ञ प्रेमप्रसाद पराजुलीले बताए । भालुबाँसमा सुके पनि कढापन यथावत् रहन्छ । बुढासुब्बाको सुकेको बाँस भने फोस्रो भएको पाइएको छ । उनले भने ‘यो बाँस कतै नपाइने लोप हुन लागेको बाँसको प्रजाति पनि हुनसक्छ ।"