आज असोज ३ गते अर्थात् संविधान दिवस । आज नेपालको संविधान जारी भएको सातौँ  वर्ष पूरा भई आठौँ  वर्षमा प्रवेश गरेको अवसरमा आज  विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ । 
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो जुन नेपालको सातौँ संविधान हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् ।
संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन  सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
यस संविधानले नेपालको  सार्वभौमिकता, भौगोलिक अखण्डता,   स्वतन्त्रता, राष्ट्रिय एकता,  अक्षुण्ण राख्दै स्वाधीनता र स्वाभिमानलाई जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ।  ३५ भाग ३०८ धारा भएको संविधानमा विविधताबिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई  आत्मसाथ गर्दै सबै प्रकारका विभेद अन्त्य गरी समानतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको छ। संविधानमार्फत नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, लोकतन्त्र, समाजवाद उन्मुख, सङ्घीय धर्मनिरपेक्ष, लोकतान्त्रिक गणराज्य घोषणा गरिएको हो। 
नेपालको संविधानको केही विशेषताहरू :
१. संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसद्को दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।
२.शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसद्का सदस्यहरूले गर्छन् भने प्रधानमन्त्री सांसदबाट छानिन्छ । ।
३. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । 
४. संसद्मा समावेशी प्रतिनिधित्व एवम् मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ जसमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई वटा सदन रहेको छ भने  जहाँ  प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य रहेका छन् भने  राष्ट्रियसभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनीत तीनसहित ५९ सदस्य रहेका छन् ।
५. संविधान अनुसार नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ किन्तु धर्मनिरपेक्षताको व्याख्या गर्दै भनिएको छ "धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता बुझ्नुपर्ने हुन्छ  ।" 
६. मौलिक हकसम्बन्धी व्यवस्थामा  महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यावरणलगायतका हकलाई मौलिक हक अन्तर्गत राखिएको छ ।
७. सात प्रदेशका कूल सांसद ५५० हुनेछन् । प्रादेशिक संसद्का कुल सदस्यको २० प्रतिशतमा नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद् बन्नेछ ।
संविधान दिवसका अवसरमा प्रधानमन्त्री अध्यक्ष रहने गरेको संविधान दिवस मूल समारोह समितिले  वर्षैपिछे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने गरेको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति हुनेगर्छ ।