आज गुरुङ समुदायले धूमधामका साथ तमु ल्होसार अर्थात् नयाँ वर्ष मनाउँदै छन् ।आज गुरुङ समुदायको नयाँ वर्ष हो । गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दैछन् । 
'ल्हो' को अर्थ वर्ष र 'सार' को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। 
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
प्राचीन तमु प्यो शास्त्रमा तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको प्रसङ्ग पाइन्छ। ल्होसारदेखि लगभग सूर्यले उत्तरायणतर्फको बाटो समाउने समय भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन्। यसर्थ सूर्यको गति र तापका आधारमा ल्होसार मनाउने गरिन्छ। गुरुङको बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत उच्च पहाडी जिल्लामा सूर्यको ताप आउन सुरु हुने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। सूर्यको दक्षिणतर्फ परमक्रान्तितुल्य झुकाव भएको समयमा पृथ्वीको उत्तरी गोलार्द्धमा सबैभन्दा छोटो दिन हुन्छ। हाल पुस ६ गते पर्ने छोटो दिनपछि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ। 
कुनै समयमा माघ १ गते सबैभन्दा छोटो दिन हुन्थ्यो। यसर्थ धार्मिक परम्परामा मकर संक्रान्तिलाई अद्यापि उत्तरायण आरम्भ भएको दिनका रूपमा लिइन्छ। ल्होसारको इतिहास लामो भए पनि तमु ल्होसार मनाइने दिन अर्थात् पुस १५ गते सूर्यको दक्षिण परमक्रान्ति पर्न गई उत्तरायण प्रारम्भ हुने समय लगभग आजभन्दा ६५० वर्षअघि पर्न जाने गणनाले देखाउँछ। यो गणनाले तमु ल्होसारको इतिहास अध्ययन गर्न मद्दत पुर्‍याउनेछ।
ल्होसारको दिन गुरुङ जातिहरू आफ्नै शैलीका वेशभूषामा रमाउँछन्। महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिन्छन् भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाउँछन् अनि कछाड र पटुकी बाँध्छन् ।
गुरुङ समुदाय घाटु, सोरठी, कौडा नाच आदिमा रमाउँछन्। रात्रिको समयमा प्रधान पुरुषले सूर्य अस्ताएको दिशातर्फ फर्किएर धनुषकाण हानी पुरानो वर्षलाई बिदाइ गर्दछन् भने पूर्वतर्फ नयाँ वर्षलाई स्वागत गर्दै बिहानीपख ल्हो नराम्रो नहोस् भन्ने कामना गरी जन्तर बाँध्ने गर्दछन्। 
यसै अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ।