वर्तमान गठबन्धन सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउने जिम्मा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले लिएको बेला राष्ट्रपति कसलाई बनाउने भन्ने हल्लाले बजार तातिएको छ । यस्तो बेला एमाले उपाध्यक्ष सुभाष नेम्बाङ, अष्टलक्ष्मी शाक्यसँगै सत्यनारायण मण्डलको नाम एमाले वृत्तमा चर्चित छ ।
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले भने भावी राष्ट्रपतिबारे मुख खोलेका छैनन् । यसले गर्दा अड्कलबाजीको बजार छ । एक विश्लेषकका अनुसार अन्त्यमा ओलीले सुभाष नेम्वाङलाई अघि सार्ने सम्भावना छ । नेम्वाङले पाँचौँ महाधिवेशनदेखि नै निरन्तर ओलीलाई साथ दिँदै आएका छन् भने ओलीलाई अप्ठ्यारो पर्ने कुरा सत्य भए पनि मौन बसेर समर्थन गर्ने बानीको विकास गरेका छन् । त्यसो त अध्यक्ष ओलीले लिम्बूवान क्षेत्रबाटै प्रतिनिधित्व गर्दै आएका छन् ।
अर्कोतर्फ भोलि प्रचण्डले एमाले र अध्यक्ष ओलीलाई अप्ठ्यारोमा नपार्लान् भन्ने अवस्था छैन । त्यस्तो अवस्थामा एसम्यानका रूपमा सुभाष नेम्वाङबाहेक अरू विकल्प भरपर्दा छैनन् । बिचैमा प्रचण्ड, माधव र शेरबहादुर देउवा मिलेर ओलीविरुद्ध चक्रव्यूह नरच्लान् भन्न सकिने अवस्था पनि छैन । अहिलेसम्म जनजातिबाट कसैले सो पद नपाएकाले गर्दा पनि नेम्बाङ राष्ट्रपतिको दौडमा अघि देखिएका हुन् । अर्को उपयुक्त पात्रको रूपमा अष्टलक्ष्मी शाक्य पनि छिन् । तर, १० भाइका रूपमा चिनिएकी र ओलीको लाइनलाई क्रस गर्न सक्ने बानी परेकीले उनलाई राष्ट्रपति बनाउने सम्भावना निकै कम छ ।
सत्यनारायण मण्डलको नाम भने मधेशका कार्यकर्तालाई सान्त्वना दिन उछालिएको मात्र हुनसक्छ । मण्डलको व्यक्तित्व यी दुवैको तुलनामा निकै कम असरदार र मधेशीमूलका रामवरण यादव पहिलो राष्ट्रपति भइसकेकाले अहिले नै उनलाई ओलीले राष्ट्रपति बनाउने सम्भावना शून्य बराबर रहेको बताइन्छ ।
भावी राष्ट्रपतिको चर्चामा ल्याइएको अर्को भरपर्दो नाम वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकै हो । तर, उनलाई राष्ट्रपति बनाउन संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधनका लागि आवश्यक कसरत पनि थालिएको बताइन्छ । मौजुदा व्यवस्था व्याख्यात्मक टिप्पणी गर्ने तयारी पनि हुनसक्छ । त्यसमा पहिलो कार्यकालको २ वर्षे अल्पकालीन अवस्थालाई पूर्ण कार्यकाल नमानिने भन्दै पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउने तयारीसमेत गरिन सक्छ ।
स्रोतका अनुसार भारतमा ७५ वर्ष बित्दा जम्माजम्मी दुई जना जीवित पूर्वराष्ट्रपति छन् भने नेपालमा डेढ दशक नबित्दै पूर्व राष्ट्रपतिहरूको सङ्ख्या दुई हुने भएकाले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने तयारी गरिन सक्छ । यसले पार्टीभित्र देखिएको अनावश्यक लबिङ र गुटबन्दी रोकिने र धेरै समस्यालाई समाधान गर्न सहज हुने निष्कर्ष निकालिएको बताइन्छ ।
अहिले राष्ट्रपति भण्डारीलाई बिदा दिने हो भने सेवा सुविधा दिनुपर्ने हुन्छ– यसले गर्दा पूर्व राष्ट्रपतिहरूको सङ्ख्या र सेवा–सुविधामा फजुल खर्च वृद्धि हुने भएकाले भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने तयारीसमेत भएको बताइन्छ ।
जन आस्थाबाट