धरान : माघे सङ्क्रान्ति सँगै सुरु भएको येले संवत् ५०८३ नयाँ वर्ष लिम्बु समुदायले काँचो बन तरुलको टिका लगाएर मनाएका छन् । आज आयोजित कक्फेक्वा तङनाम तथा येले तङबे कार्यक्रममा सहभागीहरूलाई अगुवा फेदाङमाले बन तरुलको टिक लगाई दिएपछि तङनाम सुरु भएको हो ।
किरात याक्थुङ चुम्लुङ लिम्बु सांस्कृतिक परिषद्द्वारा धरान-१५ चुम्लुङ हिममा आयोजित कार्यक्रम साँझ सम्म चल्नेछ । कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, लिम्बु गायक गायिकाद्वारा परम्परागत लिम्बु गीत, हाक्पारे साम्लो, पालाम प्रस्तुत गरिने छ । साथमा तरुल, याङबेन, तिनपाने सहित परम्परागत खानपिनको कार्यक्रम पनि रहेको छ ।   
प्राग ऐतिहासिक कालमा लेकमा चाँप फुल्न थालेपछि मानिसले त्यसलाई प्रकृतिले ऋतु परिवर्तनको सङ्केत मान्न थाले । लिम्बु भाषामा चाँप फुलेकोलाई ‘कक्फेक्वा’ भनिन्छ । त्यसै बेलादेखी मनाउन थालिएको कक्फेक्वा पर्व येले सम्बत्को नयाँ वर्षको पहिलो दिनको रूपमा लिम्बु समुदायले मनाउँदै आएको हो ।
कार्यक्रमका प्रमुख अतिथि परिषद्का केन्द्रीय सदस्य चयनध्वज फोम्बो लिम्बुले भने ‘आफ्नै ठाउँको प्रकृतिले गर्ने ऋतु परिवर्तन सँग जोडिएको येले संवत् नेपालको मौलिक संवत् हो ।’ येले सम्बत्को ऐतिहासिक तथ्यका बारेमा भएको खोज अनुसन्धानको निष्कर्ष अहिले बहसको विषय रहेको केन्द्रीय सल्लाहकार द्वय नरप्रसाद लिम्बु र हर्ष सुब्बाले बताए ।
चार किरात संस्थाले संयुक्त रूपमा गरेको प्राज्ञिक अनुसन्धानले येले सम्बत्को काल गणनामा २ हजार वर्ष कम रहेको देखाएको छ । हर्ष सुब्बा इतिहासको अनुसन्धानले निकालेको निष्कर्षलाई स्वीकार गर्ने कि नगर्ने बारेमा किरात समुदाय बिच अध्ययन मूलक बहस हुनु जरुरी रहेकोमा जोड दिए ।
अर्का सल्लाहका नरप्रसाद लिम्बुले विज्ञानले निकालेको पनि निष्कर्ष पनि अस्वीकार गरिएको तथ्यहरू रहेको बताउँदै प्राज्ञिक अनुसन्धानमा थप बहस र खोज भएमा स्थापित निष्कर्षलाई   नयाँ तथ्यले विस्थापित गर्न सक्ने बताए । चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले कक्फेक्वा तङनाम लिम्बुहरूको मुख्य पर्व रहेको बताए । 
परिषद्का जिल्ला अध्यक्ष यज्ञ फावेनको सभापतित्वमा भएको पहिलो चरणको औपचारिक कार्यक्रममा धरान-१५ का वडाध्यक्ष नरेशकुमार इङवारम लगायतले माघे सङ्क्रान्ति तथा कक्फेक्वा तङनामको बारेमा प्रकाश परेका थिए । उक्त अवसरमा चुम्लुङ केन्द्रीय सचिव डा.योगेन्द्र पालुङवा, केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकार द्वय दुर्गामाया लिम्बु, चन्द्रमाया लिम्बु, पूर्व केन्द्रीय उपाध्यक्ष नरकुमारी लिम्बु लगायतको उपस्थिति थियो ।
Yele sambat tarul 2