• रश्मि प्रधान
धरान : धरान उपमहानगरपालिका कार्यपालिकाको आज शुक्रवारको बैठकमा प्रस्तुत बजेट तथा कार्यक्रम सम्बन्धी संशोधनका लागि प्रस्तुत प्रस्तावमा छलफल भए पनि पास हुन सकेन । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा मध्यावधि समीक्षा सहित संशोधनको प्रस्ताव उपमेयर आइन्द्र विक्रम बेघाले बैठकमा प्रस्तुत गरेका थिए ।
उपमेयर बेघाले चालु आवको बजेट, कार्यक्रमहरू तथा स्रोतहरू संशोधन गरी आगामी नगर सभामा पेस गर्ने एजेन्डा स्वीकृतिका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव माथि भएको छलफलमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उपसमितिहरूको बैठक बसेर मात्र बजेटमा संशोधन गरिनु पर्ने गरेका छन्। 
वडाध्यक्षहरूले वडामा आएको बजेटलाई संशोधनमा पारेर कटौती नगरी बजेट कार्यान्वयन गर्न माग राख्दै उक्त एजेण्डालाई स्थगित गर्न आग्रह गरेपछि बैठक अन्य एजेन्डामा प्रवेश भएको थियो । त्यस अघि संशोधन प्रस्ताव स्थगित भएकोमा उपमेयर बेघाले असन्तुष्टि प्रकट गरे ।
‘मुख्य एजेन्डा माथि पर्दा लगाउने को हो ?’ भन्दै कड्किएका उपमेयर बेघाले बजेट निर्माण प्रक्रियामा बृहत् अन्तरक्रिया गरौँ भन्दै जनप्रतिनिधीहरुबिच अन्तर्विरोध किन पैदा हुँदै छ ? भनी प्रश्न गरे । आफूले तिन महिना देखीको मेयर र वडाध्यक्ष बिचको विवाद टुङ्ग्याएर आपसमा जोडने भूमिका निर्वाह गरेको मानिस चिन्न आग्रह गर्दै भने ‘हाम्रो मुटु कलेजो खाने कुन भूत छ ?’ भनी पुनः प्रश्न गरेका थिए । 
गएको २०७९ असार २३ गते भएको नगरसभामा धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड, ५८ लाख, २३ हजार रुपयाको बजेट पारित भएको थियो । उक्त बजेटमा आन्तरिक श्रोत २ करोड, ३५ लाख, ३ हजार रुपया भएको उल्लेख छ । सोही बजेटमा मध्यावधि समीक्षा गरेर योजना कटौती तथा रकमान्तरका लागि संशोधन प्रस्ताव गरिएको हो । 
कार्यपालिकाको आज भएको बैठकले स्थानीय भू-उपयोग परिषद्ले तोके अनुसार भू उपयोग समितिमा  दुई जना महिला सहित चार जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । कार्यपालिकाले मनोनयन गर्ने निर्णय गरेको सदस्यहरूमा कुमारी राई, हिरादेवी राई, डिपी भण्डारी र हरिबहादुर कार्की छन् ।  नेपाल सरकारबाट जारी भएको भू उपयोग ऐन २०७६ को दफा २० मा भू उपयोग परिषद्को कार्यमा सहयोग गर्न स्थानीय तहमा एक कार्यान्वयन समिति रहने व्यवस्था अनुसार समितिमा सदस्य मनोनयन गरिएको हो । 
बैठकले सडक पेटीमा राखिने निर्माण सामाग्रीको व्यवस्थापन र जरिवाना दर पास गर्ने निर्णय गरेको छ । धरानको मुख्य बजार क्षेत्र लगायत पिच सडकमा जग्गा भएका जग्गाधनीहरूले भवन तथा अन्य संरचनाहरू निर्माण गर्दा लामो समयसम्म निर्माण सामाग्रीहरू सडकमा नै छाड्ने गरेकोले दुर्घटना हुने, सडक भत्किने, आवत जावतमा असुविधा हुने भएकोले यसबाट उत्पन्न हुने क्षतिलाई न्यूनीकरण गर्न  निर्माण सामाग्रीहरू सडकमा राख्न नदिने व्यवस्था गर्ने निर्णय गरिएको छ ।
निर्णय कार्यान्वयनलाई प्रभावकारी बनाउन अग्रिम स्वीकृति लिई मुख्य बजार क्षेत्रमा २४ घण्टा र बाहिरी क्षेत्रका पिच सडकमा ३ दिन सम्म निःशुल्क राख्न दिने र विशेष परिस्थितिले उक्त समयमा सो सामाग्री हटाउन नसक्ने भएमा आवश्यकता र औचित्यताको आधारमा मुख्य बजार क्षेत्रमा बढीमा २ दिन र बाहिरी क्षेत्रमा बढीमा ४ दिनसम्म तपसिल बमोजिमको शुल्क लिई वडा कार्यालयबाट स्वीकृति समाप्त भए पछि पनि निर्माण सामाग्री नहटाउने जग्गाधनीलाई तपसिल बमोजिमको जरिवाना तोकिएको छ । 
कार्यपालिका बैठकले तोकेको जरिवाना दर मुख्य बजार क्षेत्रमा पहिलो पटकमै हटाएमा प्रति पावर ट्रेलर ७ सय ५०, ट्र्याक्टर १ हजार ,ट्रिपर वा ट्रकलाई ३ हजार दोस्रो पटकमा १ हजार ५ सय, २ हजार ५सय, ७ हजार ,तेस्रो पटकमा ५ हजार, १० हजार २० हजार रुपया रहेको छ । बाहिरी क्षेत्रको पिच सडकमा पहिलो पटकमै हटाएमा प्रति पावर ट्रेलर ५ सय, ट्र्याक्टर ७ सय ५०, टिपर वा ट्रक भएमा २ हजार क्रमशः दोस्रो पटकमा १५ सय २ हजार, ५ हजार, तेस्रो पटकमा ३ हजार, ५ हजार १५ हजार जरिवाना तोकिएको छ । 
चौकको नामकरणको प्रस्तावमा धरान वडा-८ स्थित देउबहादुर मार्गको अन्तिम भाग र भृकुटी मार्ग जोडिने चोकको नाम सम्बन्धित उपभोक्ताहरूको माग, वडा कार्यालयको सिफारिस र शाखाको राय अनुसार गोर्खाली चोक राख्ने निर्णय गरिएको छ । बैठकले खानेपानी समस्या तथा कानुन मस्यौदा समिति बनाउने विषयमा छलफल गरी उपसमितिहरू चाडै निर्माण गर्ने निर्णय गरेको छ ।