धरान : राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् भवन ‘सवारी’का बेला डाक्टर कुटिएको घट्नाको विरोधमा नेपाल चिकित्सक सङ्घले आज गरेको हडतालका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका बिरामीहरू बिहान अलपत्र परेको भेटिए । सङ्घले हडताल स्थगित गरेको जानकारी १२ बजेतिर सञ्चार माध्यममा आए तापनि ‘हडताल’मा उपचार हुँदैन भनेर निराश भई प्रायः बिरामीहरू घर फर्किए।

बिरामी र डाक्टरको संवेदनशील सम्बन्ध नबुझ्दा भएको घट्नाले निर्दोष बिरामीहरू क्षुब्ध भई अस्पतालबाट फर्किएका हुन् । बिपी अस्पताल भएकै वडाकी जनप्रतिनिधिलाई डाक्टरहरूले हडताल गरेको थाहा पाइनन् । धरान-१८ की वडा सदस्य दिलुकुमारी राईलाई आज आँखाको शल्यक्रियाको लागि बोलाइएको थियो ।

मुटुको समेत बिरामी रहेकी उनी रगत पातलो बनाउने औषधी ५ दिन खाएर शल्यक्रियाका लागि आएकी हुन् । तर डाक्टरको आन्दोलनले उनको अपरेसन हुने नहुने टुङ्गो छैन । उनले आज बेलुका सम्म अपरेसन हुने आशामा भोकै बस्ने बताइन् । भनिन् ‘आज अपरेसन नभए फेरी सुरु देखी प्रक्रिया दोहोर्‍याउनुपर्ने भएकाले मलाई ठुलो समस्या हुन्छ ।’  

आँखाकै उपचारमा आएका धरान ११ आँपगाछीका ७५ वर्षीय रुद्रप्रसाद आचार्यको शल्यक्रियाको मिति नै हडतालको निहुँमा एक अप्ता पछि सारी दिएको उनले बताए । हिजो भर्ना भएका उनको अब आइतबार मात्र अपरेसन हुने भनेकाले डिस्चार्ज लिएका छन् । मुटुको पनि बिमारी रहेका आर्चायलाई पनि आज अपरेशनको डेट दिएको थियो । उनले भने ‘मुटु र सुगरको समस्या भएकोले डाक्टरको आन्दोलनले अनावश्यक दुःख पाइयो ।’

सिराहाबाट श्रीमतीको पत्थरीको उपचारको लागि आएका रामसेवक पण्डित ओपिडीमा डाक्टर खोजी रहेका थिए । डाक्टरको आन्दोलन बारे थाहा नभएको बताउँदै उनले किंकर्तव्यविमूढ हुँदै भने ‘त्यति टाढाबाट आएको छु उपचार गराएर मात्र फर्कनु पर्छ ।’ 

प्रतिष्ठानको विल काउन्टरमा भेटिएकी निर्मला भट्टराईले डाक्टरको आन्दोलनबारे अनभिज्ञता प्रकट गरिन् । छोरीको आँखाको उपचार गराउन मोरङबाट आएकी उनी आज आफन्तको बसेर भोलि डाक्टरलाई देखाउने भएकी छिन । 

सर्जरी विभागमा नियमित फलोअपकोलागी आएका इनरुवाकी सरिता गुरुङले हडतालका कारण अनाहक दुःख पाएको बताइन् । प्रतिष्ठानको फेसबुक पेजमा बन्द बारे कुनै पनि जानकारी नराखिएको बताउँदै उनले भनिन् ‘कमसे कम फेसबुकमा बिहान जानकारी राखी दिएको भए बुझेर मात्र आइन्थ्यो होला नि ।’ 

दैनिक हजारौँको सङ्ख्यामा बिरामी आउने बिपी प्रतिष्ठानमा हडतालका कारण टाढाबाट आउने बिरामीहरू ठुलै मर्कामा परेका छन् । फलोअपका लागि आउने बिरामीहरू कतिपय डाक्टरलाई भेटेर आजै फर्कने गरी आएका थिए । डाक्टरहरू भने हडतालका कारण बिहान ड्युटीमा थिएनन् ।  

अनलाइन विल काटेर सप्तरीबाट दिदीको उपचारका लागी आएका अनिल कुमार यादवले बिरामी लाई हडतालको निहुँमा दुःख दिन राम्रो नभएको बताए । अनलाइन प्रणाली बिलिङ गरिएको जस्तै चेकजाँच उपचार नहुने कुरा अनलाइनबाट जानकारी दिनुपर्ने उनको भनाई छ ।

BP-Bill-Counter