• रश्मि प्रधान
धरानको पर्यटनमा धार्मिक स्थलहरूको ऐतिहासिक, पुरातात्त्विक महत्त्वले ठुलो भूमिका खेल्दै आएको छ । दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, सिंहदेवी मन्दिरको भौतिक पूर्वाधारको विकाश र आकर्षणमा अहिले सम्म कति लगानी भएको होला ?
पोखरा सँग तुलना गरौँ । प्राकृतिक संरचनाको दृश्यावलोकनको प्रसिद्धि पोखराको पर्यटनका लागि काफी छ । तथापि पछिल्लो समय पर्यटनमा महत्त्व बढेको धार्मिक स्थल विकासमा पोखरा केन्द्रित भएको देखिन्छ । 
पोखरा महानगरपालिका वडा २६ पुम्दिकोटमा शिवको विशाल मूर्ति बनाइएको छ । पुम्दिकोट पोखरा बजार देखी ७०० मिटर उचाइमा छ । त्यही उचाइलाई उपयोग गर्दै बनाइएको शिवमुर्ति अहिले पर्यटकको लागि थप आकर्षण बनेको छ ।
करिब २२ रोपनी जग्गामा निर्माण भइरहेको ५१ फिटको शिवमुर्ति वरिपरि गणेशले परिक्रमा गरिरहेको देखिन्छ । २२१ वटा शिवलिङ, डमरु, कलश र त्रिशूल बनाइएको छ । महायज्ञ दान दातव्यबाट निर्माणाधीन परिसरमा ३ करोड १६ लाख रुपयाको मूर्ति उद्योगी कमल जैनले प्रदान गरेको बताइएको छ । 
पुम्दिकोटमा अहिले दैनिक १५ सय स्वदेशी, विदेशी पर्यटकहरू पुग्छन् । डाँडालाई कैलाश पुगेको धार्मिक अनुभूति दिलाउन गरिएको पूर्वाधार विकासले सकारात्मक परिणाम दिन थालेको छ । 
बेगनास ताल, फेवाताल किनारमा उभिएर माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमालहरूको दृश्यावलोकनको आनन्द लिने पर्यटकहरूलाई कैलाश पर्वतको अनुभूति दिलाउन पुङदिकोटको पूर्वाधार विकासमा ठुलो लगानी भइरहेको पाइन्छ ।
त्यहाँ परापुर्वककाल देखि पूजा अर्चना गरिँदै आएको महादेव थान रहेकोले पुम्दिकोट नाम रहन गएको पुङदिकोट विकास कोषका अध्यक्ष चन्द्रकान्त बरालले बताए । नयाँ विकास निर्माणपछि हजारौँ पर्यटक आउन थालेपछि स्थानीयवासीले रोजगार पाएको उनले बताए ।
धरानको पिण्डेश्वर महादेवको मन्दिरलाई पुरातत्त्व विभागले बाह्रौँ शताब्दी नजिक निर्माण भएको प्रमाणित गरेको छ । भगवान् शिव सम्बन्धी पौराणिक शास्त्रहरूमा अमृत पिण्ड रहेकोले पिण्डेश्वर नामले पुकारिएको उल्लेख छ ।
पिण्डेश्वर परिसरलाई पौराणिकताको अनुभूति दिने पूर्वाधार विकासको योजना सम्म बनेको सुनिएको छैन । पुरातत्त्व विभागले पिण्डेश्वरलाई पुरातात्त्विक महत्त्वको मान्यता दिएको छ । तर त्यसलाई पर्यटनको लागि आकर्षण स्थलको पुङदिकोट जस्तो योजना र लगानीमा कसैको ध्यान गएको पाइन्न ।
पुम्दिकोटका परिकल्पनाकार बराल भन्छन् ‘छिटै बन्छ भन्ने सोच थिएन ६ वर्ष अघि मात्र योजना लिएर गाउँघरमा गएको थिएँ ।’ गाउँलेहरूको साथ पाए तत्काल निर्माण समिति बन्यो । नमुना नक्सा तयार गरेर नेपालका विभिन्न सहरमा प्रचार प्रसार गर्दै सहयोग जुटाइयो । 
उनका अनुसार योजना ४० करोड थियो । अहिले सम्म २५ करोड खर्च भएको छ । अब सुमेरु पर्वत बनाउने कामको पनि टेण्डर भई वसन्त दुगरले पारेका छन् । सुमेरु पर्वतमा पर्वती र कुमारको मूर्ति बन्छ । कौलाश पर्वत देखि सुमेरु पर्वत पुग्न चेयरकार मोनो रेलको योजना पनि छ । 
पुम्दिकोट तल्तिर विश्व शान्ति स्तुपा छ । सार्वजनिक बस, ट्याक्सी जिपमा त्यहाँ पुग्न सकिन्छ । पुम्दिकोटमा बास बस्न थुप्रै ठुला ठुला होटेल, रेस्टुराँ, लज छन्। 
पर्यटनको गन्तव्य निर्माणका पूर्वाधार भनेको नवागान्तुक पर्यटकका आवश्यक सुविधाका कुरा पनि हुन भन्ने पोखरामा पछिल्लो समय विकास भएको पुम्दिकोटले धरानको लागि उदाहरण देखाएको छ । 
(धरान उपमहानगरपालिका- पत्रकार टोलीको अवलोकन भ्रमणबाट फर्केर)