धरान : केन्द्रीय प्रविधि क्याम्पसलाई स्वायत्तता प्रदान गर्दा त्रिभुवन विश्वविद्यालयले दिने अनुदानको शर्त पुरा नगर्दा शैक्षिक कार्यक्रम सञ्चालनमा कठिनाइ झेल्नु परिरहेको गुनासो सरोकारवालाहरूले आज आयोजित स्वर्ण जयन्ती समारोहका गरेका छन् ।

त्रिविका रजिष्ट्रार प्रा.डा.पेशल दाहाल प्रमुख अतिथि रहेको समारोहमा उनलाई सम्बोधन गर्दै गुनासो प्रकट गरिएको हो । प्राडा दाहालले भने स्वायत्तता प्रदान गर्दाको आर्थिक प्रसङ्ग उल्लेख नगरी ‘हात्तीसार क्याम्पसलाई बढी भन्दा बढी सहयोग गर्नेछु’ भनी वचन दिए ।

आफूले शिक्षा प्राप्त गरेको धरानमा विस्तार भएको हात्तीसार क्याम्पसको अहिलेको भौतिक र शैक्षिक विकास देख्दा कल्पानातित लाग्ने उल्लेख गर्दै उनले भने ‘कुनै बेला यो ठाउँ उजाड डाँडा थियो ।’ यहाँ नेपालकै उच्च शिक्षाको केन्द्र बन्छ भन्ने कल्पना त्यति बेला कसैले नगरेको उनले बताए ।

त्रिविको आङ्गिक क्याम्पसहरू मध्ये हात्तीसार क्याम्पस उत्कृष्ट रहेको उनको भनाई थियो । स्वायत्तताको मुख्य उद्देश्य क्याम्पसले आफ्नो व्यवस्थापन, शैक्षिक कार्यक्रमको विकास आफै गरेर र स्थानिय साधन श्रोत परिचालनलाई प्राथमिकता दिदैं जाओस् भन्ने भएको उनले बताए ।

केन्द्रीय प्रविधि क्याम्पस दशक अघि २०६६ साल तिर त्रिविको नीति अनुसार स्वायत्ततामा गएको थियो । स्वायत्ततामा जाने क्याम्पसहरूलाई दिइने अनुदान आकर्षक थियो । सम्झौता अनुसार भौतिक पूर्वाधारका लागि केही वर्ष अनुदान प्राप्त भए पनि पछिल्ला वर्षहरूमा त्रिविले शर्त अनुसारको अनुदान दिएको छैन ।

स्वर्ण जयन्तीको अवसरमा रजिष्ट्रार दाहालले नवनिर्मित तिन तले छात्रावास भवनको उद्घाटन गरे । ३ करोड १७ लाख रुपयामा निर्मित उक्त भवनको लागि त्रिविले दिने भनिएको रकम नदिँदा क्याम्पसले १ करोड रुपया आन्तरिक श्रोतबाट निर्माण कार्य पुरा गर्नु परेको थियो ।

त्रिविबाट अनुदान प्राप्त नहुँदा प्राध्यापक, कर्मचारीलाई नियमित तलब खुवाउन क्याम्पसले समस्याको सामना गर्नु परिरहेको छ । क्याम्पसमा ७५ प्राध्यापकको दरबन्दी रहेता पनि अधिकांश प्राध्यापकहरू अवकाश पाइसकेको हुँदा भएका प्राध्यापकहरूलाई शिक्षण भार बढेको छ ।

समारोहमा सञ्चालक समितिका पूर्व अध्यक्ष सहप्राध्यापक सुरेन्द्र बस्नेतले ‘विश्व विद्यालयले यस्तै व्यवहार गर्दै गयो भने हात्तीसार डाँडा फेरी उजाड पो हुने हो कि ?’ भनी प्रश्न गर्दै त्यस्तो अवस्था त नआउला तर, त्रिवि यसप्रति गम्भीर हुनुपर्ने बताए ।

सहायक क्याम्पस प्रमुख बबिता अधिकारी, कर्मचारी सङ्घका अध्यक्ष महेश कोइराला, स्ववियु सभापति अभिनव गुरागाईँले पनि क्याम्पसको विकासको गतिलाई अघि बढाउन त्रिविको आर्थिक नीतिमा सुधार आउनु पर्नेमा ध्यानाकर्षण गराए ।

समारोहमा क्याम्पसका पूर्वसहायक डिन, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक जगत बहादुर केसी, प्राडा.भद्रमान तुलाधर, सञ्चालक समितिका अध्यक्ष प्रा.डा.धनबहादुर कार्कीले क्याम्पसको शैक्षिक एवं पूर्वाधार विकाशमा स्वर्ण जयन्ती ऐतिहासिक बनेको बताए । समारोहको सभापतित्व क्याम्पस प्रमुख सह-प्राध्यापक दिलकुमार लिम्बुले गरेका थिए ।

यस अघि क्याम्पसको मुख्य सेमिनार भवनमा बनेको स्वर्ण जयन्ती स्मारक ‘हिम–टिका क्लक टावर’ को प्रमुख अतिथि रजिष्ट्रार दाहालले उद्घाटन गरेका थिए । स्मारक क्याम्पस प्रमुख डा. दिलकुमार लिम्बुको परिवारको ३२ लाख रुपयाको लागतमा निर्माण गरिएको हो ।

सोही अवसरमा क्याम्पस स्थापना कालदेखिका लेखा प्रमुखमा रही अवकाश ग्रहण गरेका गोविन्दमान श्रेष्ठलाई सम्मानित गरिएको थियो । यसै गरी स्वर्ण जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगीताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

तस्विरः स्वर्ण जयन्तीको अवसरमा उद्घाटन भएको छात्रावास भवन र हिम-टिका स्मारक क्लक टावर hostel-hattsarnews-clock-tower