इटहरी : बराहक्षेत्र नगरपालिकाकाले लुम्बिनी गार्डेन फाउण्डेसन सँग जग्गा उपलब्ध गराउने विषयमा सम्झौता गरेको छ ।

२०८० साल ज्येष्ठ २५ गते बिहीबार भएको सम्झौतामा मेयर रमेश कार्की फाउण्डेसनका संरक्षक गोविन्द प्रकाश सुवेदीले हस्ताक्षर गरेका हुन् । स्थानीय शासन ऐन २०१७ को दफा ११ को उपधारा ५१ बमोजिम गरिएको सम्झौता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न सङ्घसंस्था र कम्पनीहरू सँगको सहकार्यमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानीकर्ताहरू जुटाएर संसारका विभिन्न ठाउँहरू (युरोप, अमेरिका, एसिया) मा प्रयोग गरिएको आधुनिक प्रविधि ल्याउन लागिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । फाउण्डेसनले नेपालमै अनुकरणीय हुने गरी आधुनिक कृषि परियोजना सञ्चालन गर्ने र नगरपालिकाले उक्त परियोजना सञ्चालनका लागि आवश्यक विविध पक्षहरूमा सहयोग गर्ने बाचा गरेको छ ।

नेपाल सरकारको कानुनको अधीनमा रही जग्गा उपलब्ध गराउने लगायत अन्य संस्थागत प्रक्रियाका लागि पहल र सहयोग गर्ने र भइपरि आउने बाधा अड्चन समाधान गर्न मेयर कार्की तयार भएका छन् । सोही विषयमा नागरिक दैनिकले गत शुक्रवार ‘२५ सय बिघामा आँखा गाड्दै निजी क्षेत्र’ भन्ने समाचार प्रकाशित ग¥यो । सम्झौता पत्रमा उल्लेख भएका बुँदा र समाचारको आधारमा नगरपालिकाले फाउण्डेसनको नाममा जग्गा उपलब्ध गराउन पहल गरेको पाइन्छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन पर्यटन र कृषि उद्यम गर्न भन्दै ९९ वर्षका लागि दिन लागिएको समाचारमा उल्लेख गरिएको छ । श्रीलङ्का टापु क्षेत्रको २५ सय बिघा जग्गा भाडामा भोग चलन गर्ने र सो क्षेत्रमा रहेको बस्ती स्थानान्तरण गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको बताइएको छ । मन्त्रीपरिषद् सम्म प्रस्ताव पुर्‍याउनको लागि नगरपालिका सँग भएको सम्झौताको आधारमा स्थानीय सरकारले पहल गरेको देखिन्छ ।

स्थानीयलाई घर बनाएर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने फाउण्डेसनको तयारी छ । सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउने कार्यविधि, २०७९ मा ४० वर्षभन्दा बढी लिजमा दिन नपाउने व्यवस्था छ । कार्यविधिमा अल्पकालीन भए पाँच वर्ष, मध्यकालीन भए पन्ध्र वर्ष र दीर्घकालीन भए ४० वर्षसम्म मन्त्रीपरिषद्ले निर्णय गर्न पाउने व्यवस्था छ । सो व्यवस्था विपरीत फाउण्डेसनको पक्षमा निर्णय गर्न लागिएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनको राजधानी मड्रिडमा कार्यालय रहेको संस्था हो । मुख्यतः विदेशी लगानी भित्राउने आसमा नगरपालिकाले सम्झौता गरेको छ । आर्थिक, सामाजिक संस्थागत र सांस्कृतिक विकासमा प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई महत्त्व दिँदै एक आपसमा ज्ञान, सिप र अनुभवको आदान प्रदान गर्ने सम्झौताको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

त्यस्तै बराहक्षेत्र नगरपालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको संस्थागत विकासका लागि नेपालमा नै उदाहरणीय हुने गरी ठुलो परिणाममा कृषि परियोजना सञ्चालन गर्ने बताइएको छ । जसले जग्गा दिने विषयलाई थप प्रष्ट पारेको छ । तिन नम्बर बुँदामा उल्लेख भएको जग्गा उपलब्ध गराउने लगायत अन्य संस्थागत प्रक्रियाका लागि पहल र सहयोग गर्ने र भइपरि आउने काममा सहयोग गर्ने विषयले जग्गा दिनको लागि मार्ग खुल्ला गरेको छ ।

त्यस बाहेक केही प्रतिवद्धताहरु औपचारिक रूपमा राखिएका छन् । सामाजिक र आर्थिक विषयहरू लगायत संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्ने, साझा क्षेत्रमा ज्ञान, सिप, अनुभव र सांस्कृतिक अभ्यासहरू हस्तान्तरण गर्न सहजीकरण गर्ने, कृषि प्राविधिक, स्वास्थ्य र सांस्कृतिक प्रवर्धनका क्षेत्रमा ज्ञानको आदान प्रदान गरिने भएको छ ।

आर्थिक र सामाजिक विकासका लागि बराहक्षेत्र नगरपालिकामा जति सक्दो चाँडो नेपालमै अनुकरणीय हुने गरी एउटा कृषि परियोजना सुरु गर्न आवश्यकता अनुरूप सबै कुराहरूमा सहजीकरण गर्ने प्रतिबद्धता जनाइएको छ । अन्त्यमा आवश्यकता अनुसार दुवै पक्षको समन्वयमा यो समझदारी पत्रलाई परिमार्जन गर्नुका साथै आवश्यक अन्य समझदारी वा सहकार्य पत्रमा हस्ताक्षर गर्न सकिने उल्लेख छ ।

सोही सम्झौतामा उपमेयर नन्द कुमारी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला समेत साक्षी रहेका छन् । वडाध्यक्षहरू किशन थापा मगर, होम प्रसाद गौतम, राजदिप लामा, आशा राम चौधरी, उद्धव प्रसाद पोखरेल, कपिल आचार्य, रोशन खड्का, निरञ्जन चन्द्रवंशी, तेज बहादुर गुरुङ, कृष्ण कुमार महतोले समेत हस्ताक्षर गरेका छन् । लुम्बिनी गार्डेन फाउण्डेसन नेपालका अध्यक्ष एकराज गिरि, पत्रकार बद्री सिग्देल सहित दुई समाजसेवी गोपाल बिमली र खगेन्द्र दाहाल सम्झौताका साक्षी हुन् ।

बराहक्षेत्र नगरपालिकाका र लुम्बिनी गार्डेन फाउण्डेसन बिच भएको सम्झौता-पत्र :