इटहरी : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल किसान माहासंघ कोशी प्रदेश समितिले ७२औँ स्थापना दिवस मनाएको छ । गरिब तथा असहायको लागी योगदान पुर्‍याउने उद्देश्य अनुसार माया घरमा खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

कोशी प्रदेश सचिव भविन खड्काका अनुसार किसान महासङ्घले केही सेवामूलक क्षेत्रमा काम गर्नुपर्ने मनसाय बमोजिम माया घरमा कार्यक्रम गरिएको हो । विगतमा महासङ्घले किसान सँग अन्तरक्रिया गर्ने गरेको बताउँदै उनले यस पटक श्रम गर्न नसक्ने नागरिक सँग संवाद गरेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा बोल्दै ढुङ्गानाले किसानको हितले मात्र समग्र मुलुक र जनताको हित हुने बताए । किसानको उत्पादनकै आधारमा अर्थतन्त्र मजबुत हुने र सोही बमोजिम राजनीतिक स्थायित्व कायम हुने उनको भनाइ थियो ।

इटहरीको माया घरमा विभिन्न राजनीति दल तथा सामाजिक संस्थाले खाना खुवाउने कार्यक्रम गर्दै आएका छन् । असहाय तथा अपाङ्गलाई हेरचाह गर्न स्थापना भएको माया घरमा सय बढी नागरिकले आश्रय लिइरहेका छन् ।