सुनसरी : कोशी गाउँपालिकामा प्रहरीले लागुऔषध दुर्व्यसनीहरूको निगरानी गर्न छुट्टै निगरानी कक्ष सञ्चालन गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले आज सोमवार निगरानी कक्षको उद्घाटन गरेका छन् । कक्ष गाउँपालिकाको वडा ८ भण्टाबारी इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना गरिएको छ।

प्रमुख अतिथि दाहालले निगरानी कक्षको स्थापनाले लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका पुर्‍याउने विश्वास व्यक्त गरे । उनले समाजमा लागुऔषध दुर्व्यसन डरलाग्दो समस्याको रूपमा बढेको बताउँदै आपराधिक घटनाहरूको वृद्धि हुने उल्लेख गरे ।

निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरू रहने छन् । कक्षबाट सीमा नाकाबाट आवतजावत गर्ने सशङ्कित व्यक्तिको चेकजाँच, नियन्त्रण र काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी, स्थानियबासीको उपस्थिति थियो ।

koshi-drug-office