इटहरी : इलाका प्रहरी कार्यालय इटहरीबाट सरुवा भएका डिएसपी शिवकुमार श्रेष्ठले बुधबार बिहान आफ्नो १० महिनामा आफुले गरेका कामहरुको बेलिबिस्तार लगाए । त्यसक्रममा इटहरीको लागुऔषधको सन्दर्भमा केही आश्चर्यजनक तथ्य पनि खुलासा गरे ।

उनले इटहरीमा आएलगत्तै यहाँका गुण्डा र ठगीको कारोबारीहरुविरुद्ध अभियान चलाएको र सफलता पनि पाएको दाबी गरे । उनले इटहरीमा दैनिक हुने एक दर्जन भन्दा बढी चोरीका घटनाहरुलाई समाधान गरेको दाबी गरे । ‘म यहाँ आएको समयमा दिनमा १० वटासम्म चोरीको घटना भएको थियो, अहिले त्यो पुरै घट्यो त भन्दिन, तर छिटपुट बाहेक नियन्त्रणमा आएको छ,’आफ्नो उपलब्धी सुनाउदै उनले भने ।

इटहरीका प्रतिष्ठित मानिसहरुले ब्राउन सुगर प्रयोग गर्ने बताउँदै डिएसपी श्रेष्ठले ब्राउनसुगर प्रयोग र होटेल रेष्टुराँबाट महिला बेचबिखनको अपराधलाई धेरै हदसम्म नियन्त्रणमा ल्याएको जिकिर गरे । हत्या, हिंसा र बित्तिय अपराधको नियन्त्रणमा निरन्तर लागिपरेको र केही हदसम्म सफल भएको श्रेष्ठको भनाई थियो । इटहरी ५ को जनता बस्तीमा दैनिकजसो हुने झगडाको घटनालाई नियन्त्रणमा लिएको दाबी गर्दै उनले आफ्नो कार्यकालमा ३ सय ५ वटा मुद्दा दर्ता गरी कारवाही गरेको विवरण पेश गरे । नागरिक सहायता कक्षको काममा व्यापक सुधार गरेको उनको दाबी थियो । इटहरीमा सोधभन्दा कम अपराधका घटनाहरु भएको डिएसपी श्रेष्ठले बताए । उनी अख्तियार दुरुपयोग अनुसन्धानको केन्द्रीय कार्यालयमा सरुवा भएर गएका छन् ।

नयाँ डिएसपीको इन्ट्री

DSP-itahari

डिएसपी शिवकुमार श्रेष्ठ सरुवा भएर गएपछि इटहरीमा नयाँ डिएसपी समिरचन्द्र खरेल आएका छन् । नयाँ डिएसपी खरेलले कपुरीकर्मीसँग कुरा गर्दै इटहरीको गुण्डागर्दी र लागुऔषधमा आफु कडारुपमा प्रस्तुत हुने बताए । उन भने,‘गुण्डागर्दी र लागुऔषधमा कडाई गर्ने योजना छ । यहाँको समस्या नै यही हो, यसको समाधानका लागि हामीले सोचेका छौं ।’

डिएसपी खरेलका अनुसार इटहरीमा भएका गुण्डागर्दीको नियन्त्रण र यहाँ रहेका लागुऔषध कारोबारीलाई पहिलो प्राथमिकता राखेर प्रहरीले काम गर्नेछ । ‘गुण्डागर्दी र लागुऔषधको तथ्यांक हेर्दैछु,’ उनले भने,‘यसमा कडाईको साथ लाग्छु, घटना कम भयो भनेर चुपचाप बस्ने अवस्था रहँदैन ।’ चोरीका घटनामा पनि प्राथमिकता रहने उनले बताए ।