इटहरी : अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको विवादमा नेकपा एमालेले बाटो खुल्ला गरेको छ ।

मङ्गलवार एमाले सुनसरीको पार्टी कार्यालयमा उज्ज्वल सिग्देल नेतृत्वको कमिटीलाई शपथग्रहण गराए सँगै पार्टीले वैधानिकता दिएको हो ।

बहुमत प्रतिनिधि र अध्यक्ष मण्डलले सहमति भएको भन्दै एमालेले सिग्देल अध्यक्ष रहेको कमिटीलाई कार्यसम्पादन गर्न बाटो खुल्ला गरेको छ ।

एमालेका केन्द्र तथा जिल्ला स्तरका नेताहरूको उपस्थितिमा सिग्देल लगायत ३४ जना सदस्यले शपथग्रहण गरेका हुन् ।

प्रदेश अध्यक्ष तथा अध्यक्ष मण्डलका अध्यक्ष गङ्गाबहादुर खड्का (जीवी गजल) ले सिग्देलको नाममा सहमति भएको भन्दै कमिटी चयन गरेपछि पुनः अर्को कमिटीको लिस्ट बाहिर आएको थियो ।

शेखर रेग्मी नेतृत्वमा केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज रोशन रेग्मीले अर्को कमिटी गठन गरेपछि विवाद चुलिएको हो । रेग्मी हाल सिग्देल नेतृत्वको कमिटीमा उपाध्यक्ष छन् ।

अनेरास्ववियुको विवादका बिच पार्टीले अध्यक्ष मण्डलको निर्णय र ५१ सदस्यीय प्रतिनिधिको बहुमतको आधारमा निर्णय गरेको जिल्ला सचिव राम कोइरालाले बताए ।

उनका अनुसार सिग्देल नेतृत्वको कमिटी वैधानिक भएको पुष्टि भएसँगै शपथग्रहण गराइएको हो । पार्टी भित्रका असन्तुष्ट, प्रतिक्रियावादी, दक्षिणपन्थी तत्त्व हाबी भएको कारण समानान्तर कमिटी बनेको उनले प्रतिक्रिया दिएका छन् ।

ujjwal-sigdel-Team