झापा : सदाका वर्ष झैँ यस वर्ष पनि दशैको अवसरमा झापाका विभिन्न स्थानमा मेला तथा सांस्कृतिक उत्सवहरू भए । यस्ता परम्परागत मेलाका मुख्य आकर्षण अल्पसङ्ख्यक सन्थाल जातिको लोपोन्मुख नृत्य हुने गर्दछ । अझ आजभोलि त यस्ता मेलामा सन्थाल संस्कृतिको संरक्षणका लागि उनीहरूको प्रवर्द्धन गर्न थालिएको छ ।

झापाको गौरादह नगरपालिका ७ स्थित ग्वालडुब्बा बजारमा आयोजित ऐतिहासिक मेला तथा सन्थाल सांस्कृतिक संरक्षण कार्यक्रममा आफ्नो नृत्य देखाउँदै गरेका सन्थाल समुदायहरूको नृत्य हेर्न सर्वसाधारणको भिड थियो । स्थानीय ग्वालडुब्बा बजार व्यवस्थापन समितिको आयोजनामा भएको दसैँ मेलामा सन्थाल समुदायको सांस्कृतिक संरक्षणका लागि भन्दै उनीहरूको प्रवर्द्धन गर्न प्रतियोगितात्मक सन्थाल नृत्यको आयोजना गरिएको थियो । त्यहाँ सबैभन्दा बढी आकर्षणको केन्द्र बने नयाँ पुस्ताका सन्थाल बालबालिकाहरू।

दशैंको रौनक सुरु भए देखीनै पूर्वी तराईका आदिवासी सन्थाल बस्तीहरूमा विशेष किसिमको रौनक सुरु हुन्छ । सन्थाल नाचका बाजागाजा सन्थाल बस्तीहरूमा बज्न थाल्छन् ।

दशैंका बेलामा सन्थाल समुदायका मानिसहरू मुरली झ्याम्टा लगायतका बाजा गाजा बोकेर नाच्दै गाउँदै सहर तथा गाउँ पस्न थाल्छन् । दशैका अवसरमा लाग्दै आएका यस्ता परम्परागत मेलाका मुख्य आकर्षण अल्पसङ्ख्यक सन्थाल जातिको लोपोन्मुख नृत्य हुने गर्दछ ।

सधैँको वर्ष झैँ यस बर्षपनि झापाका विभिन्न बजारहरूमा आयोजित दसैँ मेलामा सन्थाल नृत्य देख्न पाइयो । सबै लागेर सन्थाल संस्कृतिलाई बचाउँदै आएको भए पनि लिपी अभाव तथा आर्थिक अभावका कारण सोचेजस्तो भने गर्न नसकिएको नाच संरक्षक होप्ना किस्कु सुनाउँछन् ।  

दसैँ र तिहारको समयमा गाउँ-गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरूको नाच प्रमुख आकर्षण हुने गरेको छ । तर पछिल्लो समय भने गाउँमा यो समुदायका मानिस नै कम हुँदा यस्ता परम्परा र संस्कृति नै लोप हुने हो की भन्ने चिन्ता पनि देखिन थालेको संस्कृत र सन्थाली भाषाका विषयमा बिद्याबारिधि गरेका डा.उत्तम प्रसाद भट्टराई बताउँछन् । यद्यपि, पछिल्ला दिनहरूमा नयाँ पुस्तामा आफ्नो संस्कृति प्रति बढेको मोहले धेरै आशा पनि जगाएको उनको बुझाइ छ ।

प्रकृति पूजक सन्थालहरू आदिकाल देखिनै दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । झापाको गरामनी, सैनिक मोड, गौरीगञ्ज, ग्वालडुब्बा, गौरादह, टाघनडुब्बा, फूलबारी, महाभारा, लालपानी, शरणामती, झापा बजार, चारआली तथा लखनपुर लगायतका बजारमा पनि सन्थालहरू उल्लेख्य बसोबास रहेको सन्थाल जातिका अगुवाहरू बताउँछन् ।

उनीहरूले आफ्ना देउतालाई आफ्नो समुदायको मात्र होइन समग्र समाजकै भलाई होस भन्ने प्रार्थना गर्ने गरेका छन् । सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाई जात्रे पहिरन, रङ्गीचङ्गी भाव भङ्गिमा रङ्गिन कमिज पञ्ची धोती जस्तो कपडा शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ ।

santhal-dance-2Santhal-dance-3