धरान : आज शनिवार ३०३औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो। हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ। भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उनको वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।
पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनुपर्ने माग भइरहेको छ । पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
राजा पृथ्वी नारायणको स्मरणमा एकता दिवस मनाउँदै आइएकोमा ०६२/०६३ को आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको हो । केही समयदेखि एकता दिवस मनाउन माग उठे पनि सरकारले कुनै निर्णय गर्न सकेको छैन।
पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ छ । सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको मान्यता नदिए तापनि विभिन्न व्यक्ति, समूह र सङ्गठनहरूले आफ्नै किसिमले पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइरहेका छन् ।
पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा भएका थिए । शाहले राजगद्दीमा बसे लगत्तै नेपाल एकीकरण अभियानको सुरुवात गरेका थिए ।
विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पुर्याएका थिए ।
शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उनले सुरुवात गरेका थिए ।