धरान : ताप्लेजुङमा लिम्बू जातिको सांस्कृतिक नृत्य धाननाच याःलाङ नाची रहेको सामूहिक प्रतिमा स्थापना गरिएको छ । लिम्बू जातिको संस्कृति झल्काउने याःलाङको यो पहिलो सामूहिक प्रतिमा हो ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपमहासचिव डा. योगेन्द्र पालुङले भने ‘याःलाङको प्रतिमा पहिलो पटक निर्माण भएको हो ।’ मुन्धुममा याःलाङ धाननाच लिम्बू जातिको प्रागऐतिहासीक समाज विकासक्रमसँग जोडिएको पाइने उनले बताए ।

उनका अनुसार लिम्बु जाति कृषि युगमा प्रवेश गरेपछि सामूहिक कृषि कार्यले धाननाचको संस्कृति प्रारम्भ भएको मानिन्छ । धाननाच अहिले पनि लिम्बू समुदायमा लोकप्रिय छ र सांस्कृतिक कार्यहरूको जमघटमा नाचिने गरिन्छ ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका स्थित तोक्मे डाँडामा बनेको याःलाङ प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण भएको हो ।

जमिनबाट ५ फिट उचाइमा निर्माण गरिएको याःलाङ प्रतिमा २ पुरुष २ महिला हात समातेर धान नाचिरहेको अवस्थाको बनाइएको छ । पृष्ठभागमा कुम्भकर्ण फक्ताङलुङ हिमाल र मुक्कुम्लुङ पाथीभरको आकृति निर्माण गरिएको छ । दुवै स्थल लिम्बू संस्कृतिका महान शिर्षस्थल हुन ।

काँस धातुको प्रतिमा मूर्तिकार पूर्ण वनेम सहित ४ कलाकारहरूले निर्माण गरेका हुन । प्रतिमा स्थापनामा कुल ८० लाख रुपैयाँ लगानी भएको स्थानिय निर्माण समितिले जनाएको छ ।

प्रतिमा निर्माणका लागि कृतिमान मादेनको संयोजकत्वमा किरात याक्थुङ चुम्लुङ ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्यीय निर्माण समिति गठन गरिएको थियो ।

याःलाङ प्रतिमाको उद्घाटन बिहीबार आयोजित एक समारोहका बिच चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले गरेका छन् । कार्यक्रममा चुम्लुङ  इजरायलकी अध्यक्ष नुमा काङभाको उपस्थित थिइन् ।

चुम्लुङ जिल्ला अध्यक्ष इन्दीरा मेन्याङबोको सभापतित्वमा भएको उद्घाटन समारोह लिम्बू सांस्कृतिक कार्यक्रमको रूपमा सम्पन्न भएको थियो । लिम्बू कलाकारहरू गायिका रुक्साना लिम्बू, दिपा सुहाङ, नोगेन लिम्बू, पुष्पाञ्जली तिलिङ चपेतीको आमा, सुनिता केदेम र सेमिहाङ सिङ्गकले प्रस्तुति दिएका थिए ।