धरान: गए राती परेको भारी बर्षातले धरानका खहरे सहित अधिकांश खोला नजिकका बस्तीहरूमा क्षति पुर्याएको छ । सर्दु, सेउती, शेरा खोला छेउका वडाहरू १३, १६, १५, ५, ६, १७, ८ र वडा २० मा कराडौको क्षति पुगेको हो ।
धरान उपमहानगरपालिका उपप्रख अईन्द्र विक्रम बेघाका अनुसार क्षति कति पुग्यो भनेर २० वटै वडाबाट क्षति विवरण सङ्कलन भै रहेको छ । तर यति क्षति भयो भनेर तत्काल एकिन जानकारी नआएको उनले बताए ।
शनिवार रातिदेखि आएको वर्षाले खोलाले धार परिवर्तन गरी गाउँभित्र पस्दा कतिपय ठाउँको बास उठेको छ । धरान–६ को १४ घरमा क्षति पुगेको छ । त्यहाँ राती ११ बजे देखि १४ घर परिवारको चौरीमा बास भएको छ ।
धरान–२० चिण्डेडाँडा सुलिकोट मार्ग छेउछाउको बसोबास कालिखोलामा आएको बाढीको प्रकोपले विस्थापित हुने अवस्थामा पुगेको छ । कालिखोलाका विक्रम राईको घर जोखिममा परेको छ साथै दुई वटा कुखुरा पोल्ट्रि फार्ममा क्षति पुर्याएको छ ।
धरान–१३ निशानेमा पहिरो खस्दा कोशी पहाडी राजमार्गको धरान–धनकुटा सडक खण्डमा समेत क्षति भएको छ । सडक खण्डमा पर्ने ४ वटा ढलेका रुख सशस्त्र पहरी बलले हटाएको छ ।
गीता काफ्लेको घरमा रहेको सेफ्टी ट्याङ्की बगाएको छ भने घर समेत जोखिममा पुर्याएको छ । अमर बस्ती ‘ख’ का ४ वटा घर जोखिममा परेका छन् ।
गौरा मार्गमा र सारंगामा बिजुलीको पोल ढलेर बिजुली अवरुद्ध भएको छ । धरान–१३ मा मात्र ३ करोड भन्दा बढीको क्षति भएको वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताए ।
धरान–१५ र धरान–५ को बगरकोट स्थित पुलमा क्षति गरेको छ । धरान–५ मसाने खोलाले झोरापाटा, देउराली, दस घरे क्षेत्र जोखिममा पुर्याएको छ । धरान–८ तिन ढवाङगे पुल नजिकको बस्ती धरान–११ र १६ को सुनौली बस्ती, गणतन्त्र बस्ती, नगरकोट बस्ती जोखिममा छ ।
धरान–२० कालिखोलामा आएको बाढीको कटानले घर तर्फ माटो कटान तीव्र गतिमा भैईरहेको छ । सडक निर्माणको ढिला सुस्तीले ड्रेनमा बग्नु पर्ने भल पानी सडकमा बगेको हुँदा डोजरले खनेको माटो सहित आएको बाढीले होमपाई पुर्णरुपमा क्षतिग्रस्त भएर पुरिएको छ । स्थानीय उपभोक्ताको सक्रियतामा स्काभेटरले खोला कटान गर्ने कार्य जारिरहेको छ ।
पानवारीका १४ घरपरिवार चौरीमा विस्थापित
धरान–५ को सेरा खोलाको माथिल्लो पुलदेखि धरान ६ पानबारीमा बनेको पुलसम्मको भाग पहिले देखि नै बाढी आउँदा जोखिम हुने गरेको थियो । गए राती परेको पानीले वडा ५ र ६ जोड्ने शेरा खोलाको बाढी गाउँमा पस्दा धरान ६ पानवारी प्रवेशद्वार नजिकको बस्तीका १४ घर परिवार चौरीमा स्थानान्तरण भएका छन् ।
स्थानीय ऐरा परियारले भनिन् ‘बर्षैनी शेरा खोलामा आएको बाढीले क्षति पुर्याउने गरेको थियो ।’ बाढीले घरमा बस्नै नसक्ने अवस्था बनाएको बताउँदै उनले नगरपालिकामा पटक पटक जानकारी गराउँदा अल्पकालीन उपायको लागि तार जाली लगाउने गरेको छ ।
उनले भनिन् ‘तर दीर्घकालीन समस्या समाधानमा गम्भीर भएर कुनै काम गरिएको छैन ।’ खोलामा गाउँ वारपार गर्ने पक्की पुल निर्माण भएको छ । तर बर्षेनी खोलाले धार परिवर्तन गरेर गाउँमा क्षति पुर्याउँदा समेत कसैले मतलब नराखेको उनको गुनासो छ ।
स्थानीय कृष्ण परियारले यसभन्दा अगाडि दशैकै समयमा बाढी आउँदा आफू र आफ्नो परिवार सहित धनमाल जोगाउन नै धौ धौ पर्दा दशै भन्दा पनि आफूहरूलाई दशा भित्रिएको बताए ।
वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले भने ‘बर्षादका समयमा खोलाको सतह बढ्दै गएपछि खोलाले धार परिवर्तन हुँदै गएको हो ।’ सानो खोला अहिले विशाल बनेको छ । यस विषयमा कार्यपालिका बैठकमा समेत पटक पटक कुरा उठ्दा समेत समाधान हुन नसकेको वडाध्यक्ष भट्टराईले बताए । त्यसैले बर्षैनी सर्वसाधारणले क्षति व्यहोनुपरेको उनको भनाई छ ।
बस्ती बासीहरू लत्ताकपडा खाद्यान्न पोकेको पारेर गए राती ११ बजे देखि सतर्कता अपनाएर चौरीमा बस्दै आएको स्थानीय ऐरा परियारले विश्वकर्माले बताईन । स्थानीयकै सक्रियतामा बस्ती माथि शिरमा लगाएको तटबन्धन खोलाले भत्काउँदै बस्तीमा पसेको उनले बताइन् ।

ऐराले भनिन् ‘खोला आउने बित्तिकै सामान झिकेर राख्छौँ, पानी घटेपछि र तटबन्धन गरेपछि चौरीको सामान घर भित्र लग्छौँ ।’ जोखिम ठाउँमा बसेकाले सतर्कता अपनाएर बस्नु परेको उनको भनाई छ ।
शनिवार राती ११ बजेको समयमा तटबन्धन गरेको ठाउँ फुटाएर बाढी बस्तीमा पसेको हो । बर्षातको समयमा जहिले चौरीमै बास हुने बताउँदै उनले भनिन् ‘आज मात्र होइन मेयर हर्क साम्पाङको अफिसमा दजनौ पटक तटबन्धनका लागि डेलिगेसन गयौ उहाँले हुन्छ, हुन्छ भन्नु हुन्छ आउनु हुन्न ।’
विस्थापितहरूको अवस्था अवलोकन गर्न शनिवार बिहान भने नगर प्रमुख साम्पाङ वडाध्यक्ष सहित पुगेका थिए । प्रमुख साम्पाङले जेसिवि पठाउँछु भनेको उनले बताइन् ।
बाढीले ठुलो क्षति भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समेत त्यस क्षेत्रमा पुगेका थिए । दीर्घकालीन समस्या समाधानका लागि तटबन्ध बनाउनुपर्ने माग भए पनि त्यस तर्फ उपमहानगरपालिका गम्भीर नभएको स्थानीयको गुनासो छ ।
वडाको उक्त क्षेत्रको एकापटि जङ्गल क्षेत्र रहेकोले वन विभागसँग समन्वय गरेर मात्र काम गर्नुपर्ने अवस्थाले दीर्घकालीन समस्या समाधान बाधा पुगेको हो ।
वर्षा निरन्तर भइरहेकाले धरानका खोला नाला क्षेत्र नजिकमा थप क्षति हुने सम्भावना बढेर गएको छ । बर्षेनी हुने क्षति न्यूनीकरणमा स्थानीय सरकार धरान उपमहानगरपालिका गम्भीर देखिन्न ।
धरानका खोलाहरू व्यवस्थापनमा स्थानीय सरकारको उपेक्षाका कारण बर्सेनि करोडौँको क्षति व्यहोर्नु परेको स्थानीयको भनाई छ । उनीहरूले वर्षा र बाडीका बेला गरिने तत्कालीन खर्च र खोलानालाको दीर्घकालीन व्यवस्थापनमा हुने खर्च उस्ता उस्तै भए पनि दीर्घकालीन योजना किन बन्दैन प्रश्न गरेका छन् ।