धरान: चट्याङमा हजारौँ विद्युतीय शक्ति सञ्चार हुने भएकाले त्यसले छाएको भरमा मानिसको मृत्यु हुन्छ । तर चट्याङ परेको ठाउँ भन्दा ३० मिटर टाढा सम्म क्षति पुर्‍याएको घटना शनिवार राती धरान–२० विष्णुपादुकामा भएको छ ।
चिण्डेडाँडा कालीमाटी स्थित सरमाया तामाङको घर छेउ रुद्राक्षको बोटमा सवा १० बजे राती चट्याङ परेको हो । चट्याङ परेको ठाउँमा गहिरो खाल्डो खनिएको छ । त्यसको ३० मिटर टाढा रहेको घरमा समेत क्षति पुर्‍याएको छ ।
घरको भान्सामा रहेको माटोको चुल्हो चट्याङले भत्काएको छ । घरको विद्युतको मेन स्विच, मिटर बक्स फुटाएको छ भने वायरिङका तारहरू क्षतविक्षत बनाइदिएको छ ।
सरमाया तामाङका अनुसार खाना खाएर सुत्ने समय भएकोले भान्सामा कोही थिएनन् । धन्न ४ जनाको परिवारको कसैलाई केही भएन ज्यान जोगिएको घर मुली तामाङले बताइन् । उनले भनिन् ‘गड्याङ गुडुङ पनि केही गरेको थिएन एक्कासि चट्याङ प¥यो ।’
चट्याङ परेको ठाउँबाट उछिट्टिएको ढुङ्गाले ५० मिटर तल रहेको अर्को घरको धुरीमा समेत ढुङ्गा खसेर क्षति पुर्‍याएको स्थानीय चरिमान तामाङले बताए । चट्याङ विद्युतका तार लत्रिएको छ । घरको वायरिङ क्षतविक्षत भएर अवरुद्ध विद्युतले जोखिमपूर्ण अवस्थामा छ । विद्युत प्राधिकरणलाई तत्काल मर्मत गर्न उनीहरूले माग गरेका छन् ।