दिपक कार्की
इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोक क्षेत्रमा
विहान एउटा मोवाईल पसल र खेतीखोला नजिकै रहेको पशुपति रोड केरियरमा एकै
पटक दुइ ठाँउमा चोरी भएको छ ।
इलाका प्रहरी कार्यालयदेखि ५ सय मिटर पश्चिम क्षेत्र भित्रमा पर्ने पसल र केरियर
दुबै गरी कम्तिमा साढे १० लाख बढिको सामान र नगद चोरी भएको पीडित
ब्यवसायीहरुले बताएका छन् । पीडितमध्ये इटहरीको चोकैमा रहेको मेरो कम्युनिकेशन
मोवाईल पसलका सञ्चालक दीपक कायस्थले आफ्नो मोवाईल पसलबाट कम्तिमा ८ लाख
बढी मुल्यको मोवाईलहरु चोरी भएको बताए ।
पसलको सटरमा लगाएको ताला काटेर सटर झम्पलले च्यातेर पसलमा भित्र पसि
महंगो ब्राण्डका मोवाईलहरुमात्र छानेर चोरी लगेको पनि पीडित ब्यवसायी कायस्थले
जानकारी दिए । सो क्षेत्रका सुरक्षागार्डका रुपमा कार्यरत सिभिल सेक्युरिटीका एकराज
रेग्मीले विहान ४ बजे घर गएपछी पसल चोरी भएको हुन सक्ने आशङ्का ब्यक्त गरे ।
सोही प्रकृति र प्रविधि प्रयोग गरी इटहरीकै खेतीखोला नजिकै रहेको
पशुपति रोड केरियरको सटर फुटाई भित्र रहेको दराजमा राखिएको नगद दराज
फोडेर दुई लाख पचास हजार नगद लगेको केरियरका इन्चार्ज केशवप्रसाद गेलालले
बताए । उक्त केरियरमा अरु सामान भने चोरी नभएको र नगदमात्र लगिएको पनि जानकारी
दिए ।
चोरीको विषयमा ब्यापारीहरुले प्रहरी प्रशासनको कमजोरीकै कारणले चोरी
भएको आरोप लगाएका छन । उता इलाका प्रहरी कार्यालय इटहरीले भने चोरीको
घट्नाप्रति संवेदनशील हुँदै चोरको ब्यापाक रुपमा खोजतलास प्रारम्भ गरेको
जानकारी दिएको छ ।