धरान : दक्षिण एसिया र नेपालकै नमुना मानिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षको क्षमता विरामीको चाप अनुसार ज्यादै कम छ । क्षमताभन्दा दोब्बर, तेब्बर विरामी उपचारमा आउदा बेड नपुगेर भुँईमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।

आकस्मिक कक्षको क्षमता बढाउन लामो समयदेखि माग हुदै आएको छ । एक समय क्षमता विस्तार गरिएको पनि हो, तर विरामीको चाप निरन्तर बढीरहेकोले अझै पनि बेड पुगेको छैन । पुर्वका सबै जिल्लाबाट रिफर भई विरामी प्रतिष्ठानमा नै आउने भएकोले पनि चाप अत्यधिक हुन्छ । छिमेकी मुलुक भारतबाट पनि विरामी उपचार गर्न यहाँ आउने गरेका छन् । बेड नपाएर भुई र ट्रलीमा राखेर उपचार गर्नुपर्दा विरामी र डाक्टरहरु सबैलाई हैरानी छ । हिड्ने गल्लीमा पनि विरामीलाई राखिएको छ । मंगलबार दिउँसो प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्दा त्यहाँको अस्तब्यस्त थियो । विरामीहरुको चापले भुईमा खुट्टा टेक्ने ठाउँ थिएन । ‘इर्मेजेन्सीमा विरामीहरु भुँईमा राखेर उपचार भइरहेको थियो, बेड थप गर्नेतिर किन ध्यान नपुगेको हो,’श्रीमतिलाई उपचार गराउन पुगेका धरानका उत्तम भण्डारीले भने,‘इर्मजेन्सीमा विरामीहरुको विजोग छ । सरकारले पनि यतातिर ध्यान पुगोस् ।’

आकस्मिक कक्षका चिकित्सकहरु पनि विरामीको चापले गर्दा उपचारमा धेरै समस्या भोग्नु परिरहेको बताउँछन् । प्रतिष्ठानको आकस्मिक कक्षमा हाल ५० जनाको हाराहारीमा मात्र विरामी राख्ने क्षमता छ । सामान्य अवस्थामा ६० जनासम्मको उपचार गराउन सकिने आकस्मिक विभागको भनाई छ । तर, दिनहुँ क्षमताभन्दा दोब्बर विरामीहरु आकस्मिक कक्षमा उपचार गराउन गइरहेका छन् । ‘हामीलाई काम गर्न एकदमै गाह्रो छ । चाप अनुसार बेड छैन, भुई र ट्रलीमा राखेर उपचार गराउछौं,’आकस्मिक विभागका प्रमुख डा.ज्ञानेन्द्र मल्लले भने,‘बेड क्षमता बढाउनु पर्यो भनेर कराइरहेका छौं ।’ बढीमा ६० जना क्षमता भएको आकस्मिक कक्षमा दोब्बर विरामीहरु आउछन् । त्यो बेला आकस्मिक कक्ष अस्तब्यस्त हुन्छ । आकस्मिक कक्षमा एचआइभी, क्षयरोग लागेका विरामीहरु पनि आउछन् । उनीहरुलाई अलग्गै राखेर उपचार गराउने ठाउँको पनि अभाव छ ।


क्षमता विस्तार कार्य रोकियो
प्रतिष्ठानले एक बर्षको तयारी र प्रक्रिया पुरा गरेर आकस्मिक कक्ष विस्तारको तयारी गरेको थियो । भदौ ५ गते काम पनि शुरु भयो, तर स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा काम शुरु भएै दिन रोकिएको थियो । उक्त घटनाले आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरु आक्रोशित भएर पदाधिकारीहरुलाई घेराउ गर्न पुगेका थिए । उक्त क्षमता विस्तार कार्य कार्यकारिणी समिति निर्णय भएर सिनेटबाट पनि बजेट स्वीकृत गरी बनाउन शुरु भएको थियो । उपकुलपति डा.राजकुमार रौनियारले मन्त्रालयमा त्यसबिषयमा कुरा भएको र अब चाडै पुनः काम शुरु गर्ने जानकारी दिए । ‘चाडै नै काम शुरु हुन्छ,’काठमाण्डौंमा रहेका उपकुलपति रौनियारले भने ।