धरानः दशै तिहार जस्तो चाडपर्वमा केही न केही अप्रिय घटना भइरहने ठाउँ हो धरान । यसपाली तिहार आउन बाँकी नै छ, तर विदाईको क्रममा रहेको चाड दशैमा भने धरान विगतमा भन्दा शान्त रह्यो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार दशैमा अप्रिय एवं गम्भीर खालका अपराधिक घटनाहरु भएको छैन । यसपाली दशैमा धरान आफुले सोचभन्दा शान्त भएको डिएसपी सुमन तिम्सिनाले बताए । उनले भने,‘हामीले सोचभन्दा पनि दशैमा धरान धेरै शान्त भयो ।’ वदमाश एवं फटाहा युवाहरुको अभिलेखीकरण गरेर प्रहरीले निरन्तर निगरानी गर्नु र तारेखमा राखेको कारणले पनि धरान शान्त हुनुमा प्रमुख भुमिका खेलेको डिएसपी तिम्सिनाको भनाई थियो ।
डिएसपी तिम्सिनाका अनुसार धरानमा डेढ सय हाराहारीमा लागुपदार्थ सेवनकर्ता, करोबारी युवाहरु छन्, जो कुनै न कुनैरुपले अपराधिक घटनाहरुमा संलग्न हुन्छन् । यसपाली तिनीहरुलाई कडा निगरानीमा राखेर काउन्सिलिङ पनि गरिरहेको कारण विगतमा जस्तो चाडपर्वमा अपराधका घटनाहरु हुन नपाएको उनले बताए । ‘धरानमा जम्माजम्मी डेढ सय युवाहरु छन्, जो लागुपदार्थ सेवन पनि गर्छन्, र अपराधमा पनि तिनीहरु नै संलग्न छन्,’डिएसपी तिम्सिनाले भने,‘तिनीहरुलाई रेडर्कमा राखेर निरन्तर काउन्सिलिङ र तारेखमा राखेपछि अपराधमा कही भएको हो ।’
दशै आउनु करिब एक महिना अघि नै धरान ८ स्थित यलम्बर पार्कमा कट्टी आतंक भएको थियो । त्यसमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेपछि आएको दबाबलाई पन्छाउदै कानुनी कारबाही अघि बढाएकोले पनि अपराधी र त्यस्तालाई संरक्षण गर्नेहरुको मनोवल खस्किएको प्रहरीको भनाई छ । साथै, साँझ परेपछि सार्वजनिकस्थलहरुमा समुह समुह बनाएर बस्ने युवाहरुलाई कडा गर्नुका साथै धरानको पब्लिक स्कुलमा मेला नलागेको कारण पनि अपराधले प्रश्रय नपाएको डिएसपी तिम्सिना बताउँछन् । ‘विना कारण र काम सार्वजनिक ठाउँमा जम्मा हुने, समुह बनाउने प्रवृतिलाई निरुत्साहित गर्यौं । मेला पनि अपराध जन्माउने एउटा कारण हो, पब्लिकमा नलागेकोले पनि अपराधिक मनस्थिति भएकाहरुले प्रसय पाएन,’उनले भने ।