इटहरीः इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्र सर्पले डसेका विरामीहरुको उपचारमा वरदान सावित हुन थालेको छ ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि हालसम्म आएका सतप्रतिशतले उपचार पाएका छन् । जसले गर्दा सर्वसाधारणहरुले केन्द्रलाई वरदानको रुपमा लिन थालेका छन् । सर्पदंशका कारण मानिसहरुले ज्यान गुमाउने गरेको तर्फ ध्यान दिदै नेपाली सेनाको सहयोगमा २०६९ देखि सामुदायिकस्तरमा सर्पदंश सञ्चालनमा आएको थियो । केन्द्रमा हालसम्म उपचारका लागि आएका ८ हजार ५ सय वढीको उपचार भई निको भएर फर्किएको केन्द्रले जानकारी दिएको छ ।

सर्पदंश केन्द्रमा उपचारका लागि आइपुगेकाहरुले स्वस्थ्यलाभ पाएका कारण केन्द्रप्रति सर्वसाधारणको आस्था बढेको केन्द्रका अध्यक्ष दिवस पोखरेलले बताए । केन्द्रमा सुनसरी, मोरगं, उपयपुर, पुर्वी पहाडी क्षेत्रका विभिन्न जिल्लाहरुबाट समेत सर्पदशंबाट पीडितहरु उपचारका लागि आउने गरेको केन्द्रका उपाध्यक्ष राजु थापाले जानकारी दिए । केन्द्रमा उपचारका लागि आउनेहरुमा अधिकांश सर्वसाधारणहरु रहेको र शुल्क तिर्न नसक्नेहरुलाई छुट दिने गरेको समेत उपाध्यक्ष थापाले वताए ।

केन्द्रमा उपचारका लागि ल्याइएकाहरुको कुरुवाहरुलाई नेपाली सेनाले खानाको व्यवस्था समेत मिलाएको जनाएको छ । सर्पदंशका पीडितको उपचारका लागि केन्द्रले विषालु सर्पको टोकाईको कारण उपचार गर्न आउनेहरुसँग दुई हजार र विष नलाग्ने सर्पदशंको उपचारका लागि आउनेहरुसँग एक हजार रुपैया शुल्क लाग्ने व्यवस्था गरेको छ । अन्य स्वास्थ्य केन्द्र भन्दा सुलभ र प्रभावकारी उपचार हुने भएको कारण समेत केन्द्रमा विरामीहरुको चाप बढी हुने गरेको जनाइएको छ । सर्पदंशको प्रभावकारी उपचार गर्दै आएको केन्द्रलाई हाल आवश्यक सामाग्री खरीदको लागि प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरेले २५ लाख उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन ।