धनकुटा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालीन प्रमुख भानुभक्त येङदेन र लेखा अधिकृत दहलमान राईसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले एक विज्ञप्ती जारी गर्दै उनीहरुलाई बिशेष अदालतमा बिहिबार मुद्दा दायर गरिएको जानकारी गराएको हो । उनीले २०६९/०७० मा जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित दादुरा रुवेला, सुरक्षित मातृत्व, हात्तीपाइले रोग उन्मूलन, परिवार नियोजन, औषधि खरीदलगायत कार्यक्रममा नक्कली बिल भरपाई बनाएर करिब ४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा नायव सुब्बा हरिकुमार पोखरेल र तत्कालीन खोप सुपरभाइजर प्रकाश अधिकारी छन् । उनीहरूलाई पनि भ्रष्टाचार निवारण ऐनबमोजिम एक वर्ष कैद सजाय गर्न र बिगोबराबरको सम्पत्ति जफत गर्न मागदाबी गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर चारै जना पदबाट निलम्बनमा परेका छन ।

45108671_1188464771302837_4276991350332719104_n copy

दादुरा रुवेला खोप कार्यक्रम अन्तर्गत निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधी ढुवानी, सवारी साधनको इन्धन खर्च र कार्यालय संचालन तथा व्यवस्थापनका सामान खरीद गरेको भनी ३ लाख ८१ हजार ८१ रुपैया ७५ पैसाको नक्कली बिल भरपाइ तयार गरी भ्रष्टचार गरेको विशेष अदालतमा दायर मुद्दामा उल्लेख छ । उनीहरुले नेपाल सरकारलाई जनस्वास्थ्य जस्तो संवेदनसिल विषयमा हानीनोक्सानी पुर्याउने बदनियतले रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेकोले मुद्दा दर्ता गरिएको आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।