धरान : गर्भमा रहेको बच्चासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डमा मृत्यु भएकी धनकुटाको साँगुरीगढी गाउँपालिका २ की मनिषा लिम्बूको परिवार र प्रतिष्ठानको अस्पताल प्रशासनबीच सहमति भएको छ ।
सोमबार दिनभर भएको द्धिपक्षीय वार्तामा मृतककी छोरीलाई निःशुल्क पढाउने व्यवस्था गर्नुपर्ने माग पीडित पक्षले गरेपनि अस्पताल प्रशासनले स्वीकार गरेन । तर, मृतकको श्रीमान् र छोरीलाई जीवनभर निःशुल्क उपचार सुविधा दिने प्रतिवद्धतासहित कागज उपलब्ध गराएपछि सहमति भएको हो । पीडित परिवारले उपचारमा वेवास्ता गर्दा मनिषाको ज्यान गएकोले सम्बन्धित डाक्टर र नर्सलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उक्त मागलाई अस्पताल प्रशासनले सिधै नकारेको थियो ।

12 5
मनिषाकी फुपु सासु मनिका लिम्बुका अनुसार अस्पताल प्रशासनले लापरवाही नभएको दाबी गर्दै एकोहोरो क्षतिपूर्ति पनि दिन नसक्ने भनेपछि आफुहरु बाध्य भएर सहमति गर्नुपरेको बताइन् । ‘क्षतिपूर्ति दिन मिल्दैन भनेपछि केही नहुने रैछ भनेर शव जिम्मा लियौं । बाउ र छोरीलाई जीवनभर निःशुल्क उपचार सेवा दिने भनेर डाइरेक्टरले एउटा कागज भने दिएको छ,’उनले भनिन् । यस्तै, मनिषाको शव गाउँसम्म पुर्याउन शव वाहन उपलब्ध गराउने र छरछिमेक, आफन्तलाई लैजान एउटा बसको खर्च पनि अस्पताल प्रशासनले व्यहोर्ने सहमति भएको उनले जानकारी दिइन् ।
विगत ६ महिनादेखि नियमितरुपमा बीपीका जाँच गराइरहेकी २८ बर्षीय गर्भवती मनिषालाई डाक्टरहरुले कार्तिक २३ गते भेलिभरीको समय दिएका थिए । तर, तोकिएको समयमा पनि व्यथा नलागेपछि कार्तिक ३० गते बीपीको प्रसुती वार्डमा आफन्तजनले ल्याएका थिए । आइतबार बिहानदेखि व्यथा लाग्ने औषधी शुरु भएपछि दिउँसोबाट मनिषालाई व्यथाले च्याप्दै लगेको थियो । पाठेघरको मुख ६ घर खुलेपछि असाध्यै पीडा भएको र पटक पटक लेबर रुममा लैजान आग्रह गर्दा पनि नर्सहरुले वेड छैन, दोस्रो पटक जन्माउन लागेको हो, केही पनि हुदैन भन्दै झर्किएको मृतकी फुपु सासु मनिकाको भनाई छ । त्यसैक्रममा असाध्यै दुःखाई र गर्मी भएर चिसो भुईमा बस्ने भन्दै वेडबाट झरेर बस्नुबित्तिकै मनिषाले प्राण त्यागेको परिवारजनले जनाएका छन् । समयमै डाक्टर, नर्सहरुले नहेरिदिदा, लापरवाही गर्दा पेटभित्रै रहेको बच्चा र आमाको ज्यान गएको उनीहरुको आरोप थियो ।
बीपी प्रतिष्ठानको प्रसुती विभागमा सुत्केरी गराउन ल्याएका गर्भवती महिला र जन्मिएका शिशुहरुको अकास्मक मृत्यु भएको थुप्रै विवादित घटनाहरु छन् । तर, अहिलेसम्म ती घटनाहरुको यथोचित छानबिन भएर सत्यतथ्य बाहिर आएको छैन । पीडित परिवारले लापारवाहीको आरोप लगाउने गरेका छन् भने अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकहरु यसलाई अस्वीकार गर्छन् । बीपीमा हुने यस्ता कतिपय घटनाहरुमा छानबिन समिति गठन गरिएपनि ठोस निष्कर्ष दिन सक्दैन ।