झापा : भद्रपुर झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको ६ वर्ष बितिसक्दा समेत शव नेपाल आउन सकेको छैन ।
पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । साउदी अरबमै २०६९ पुस ३० गते उनको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताए । त्यसबेला साउदी अरबमै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उनका छोरा नीरजलाई फोनमाफर्त खबर दिएका थिए ।
छ वर्षपछि यही मङ्सिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझन काठमाडौ गएका नीरज निराश भएर घर फर्किएका छन् । अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताए । ‘आमाको शव मङ्सिर ३ गते साझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौ ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको हाद एयरलायन्सको काठमाडौ कार्यालयले बतायो,’ श्रेष्टले भने ।
हाद एयरलायन्सले शव नआउनुको खनस कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउछन् । भद्रशीलाको छ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसै गरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ छिन् । नीरज गाउँमै सानो पसल चलाएर गुजरा चलाउछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् ।
भद्रशीला कुन मेनपावर कम्पनी वन एजेन्टमार्फात वैदेशिक रोजगारीमा गएकी थिइन् भन्ने समेत छोराछोरीलाई जानकारी छैन । घरेलु कामदारको रुपमा साउदीमा कार्यरत भद्रशीलाले शुरुमा रु २४ हजार नगद पठाएकी थिइन् र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहिन भएको छोरा नीरजले बताए । लामो समय सम्र्पकविहिन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो । श्रेष्ठ परिवारले शव ल्याउन पहल गरिदिन नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
नीरजले परराष्ट्र मन्त्रालयमा समेत शव ल्याउने व्यवस्था मिलाइदिनका लागि निवेदन दिएको बताए । ‘हामी सानै थियौ, बुबा बित्नु भएपछि नागरिकता र राहदानी सबै लिएर विदेश जानुभएको रहेछ,’ शव नआएपछि निराश बनेका जेठा छोरा नीरज भन्छन्, ‘शव ल्याउन सरकारले नै पहल गरिदिन अनुरोध गर्दछु ।’
रासस