धरान: रेडियो धरान तथा औजार दैनिक पत्रिकासम्बद्ध बिकी श्रेष्ठमाथि सोमबार राती आक्रमण गर्ने ३ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना भएको २४ घण्टा पनि बित्न नपाउदै प्रहरीले मंगलबार दिउँसो उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले अनुसन्धानको क्रममा नै भएकोले नाम भने सार्वजनिक गरेको छैन । तर, आक्रमणमा संलग्न भनिएका ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले पुष्टि गरेको छ । ‘तीन जना समातिएको छ, अनुसन्धानको क्रममा नै छौं, अहिल्यै नाम सार्वजनिक नगरौं,’प्रहरी निरीक्षक मेदनीप्रसाद साहले भने,‘घटनामा अरु पनि हुनसक्छन्, अनुसन्धानबाट जो जो देखिन्छन्, पक्राउ हुन्छ ।’ पक्राउ परेका युवाहरु ठुलै योजनामा धरानको वडा नं २०, चिण्डे डाँडातर्फ गएको हुनसक्ने अनुमान छ ।

उनीहरु झोलुङगे पुलमा नै चिण्डे डाँडाबाट फर्किरहेका सञ्चारकर्मीहरुसँग भेट हुदा आवेगमा आएर ती युवाहरुले श्रेष्ठलाई आक्रमण गरेको प्रहरीको अनुमान छ । ‘हतियारसहित गएको भनेपछि उनीहरुको त्यतै(चिण्डे डाँडा) केही गर्ने योजना थियो कि ? बीच बाटोमा नै पत्रकारहरुसँग भेट भएर आक्रमण गरेको हुनसक्छ । हामी अनुसन्धानको क्रममा नै छौं,’साहले भने । सोमबार उद्यमशिल ऋण तथा बचत सहकारीको साधारणसभा सम्पन्न भएपछि सञ्चारकर्मी श्रेष्ठ, शिशिर राईलगायतको टिम चिण्डे डाँडामा समिक्षा कार्यक्रम भएको थियो । सोही कार्यक्रम सकेर फर्कने क्रममा राती करिब सवा ८ बजे श्रेष्ठमाथि आक्रमण भएको थियो । उनी औजार दैनिकको मार्केटिङ शाखामा कार्यरत छन् भने रेडियो धरानका व्यवस्थापकसमेत हुन् ।

घटनाबारे मंगलबार बिहान पत्रकार महासंघको टोलीसहित इलाका प्रहरी कार्यालय पुगेर उनले ठाडो निवेदन दिएका थिए । श्रेष्ठका अनुसार ७, ८ जनाको समुहले झेलुङ्गे पुल तर्ने क्रममा वियरको बोतल टाउकोमा प्रहार गरेका थिए भने खुकुरीसहित आक्रमण गर्न खोजेपछि सबै भागेर ज्यान जोगाएका थिए ।